Thursday, July 17, 2025
समाजहेटौँडाको ‘गायब गाडी’ अझै भेटिएन : अब भूगर्भविदले खोल्ने छन् जमिनमुनिको रहस्य

हेटौँडाको ‘गायब गाडी’ अझै भेटिएन : अब भूगर्भविदले खोल्ने छन् जमिनमुनिको रहस्य

spot_img

हेटौँडा | मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविदको सहयोगमा खोजी अगाडि बढाइने भएको छ।

गत शुक्रबार दिउँसो करिब १ बजेको समयमा गैरीगाउँको एक स्थानमा रोकिराखिएको ना ४ ख ४८३३ नम्बरको मिनी ट्रक अकस्मात् जमिन भासिएर माटोमुनि हराएको थियो। घटना लगत्तै प्रहरी, दमकल र अन्य प्राविधिक टोली परिचालन गरेर खोजी कार्य सुरु गरिए पनि आइतबार दिउँसोसम्म पनि गाडीको कुनै अत्तोपत्तो पत्ता लाग्न सकेको छैन।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डिएसपी श्यामु अर्यालका अनुसार प्रारम्भिक चरणमा आवश्यक खोजीका कामहरू गरिएको भए पनि गाडी फेला नपरेपछि जोखिमको मूल्याङ्कन गर्दै हाललाई स्थगित गरिएको छ।

“स्थलको वरिपरि पानी जमेको थियो, हामीले त्यो हटायौं। जेसीबी प्रयोग गरेर खन्ने प्रयास पनि भयो, तर थप जमिन भासिने सम्भावना रहेकाले तत्कालका लागि खोजी कार्य रोकिएको छ,” डिएसपी अर्यालले जानकारी दिए।

भूगर्भ विज्ञ बोलाउने निर्णय

घटनाको गम्भीरता र स्थानको संवेदनशीलता मूल्याङ्कन गर्दै हेटौंडा उपमहानगरपालिकाले आइतबार एक आकस्मिक बैठक डाकेर भूगर्भविदहरूको सहयोगमा वैज्ञानिक ढंगबाट खोजी कार्य अघि बढाउने निर्णय गरेको छ।

उपमहानगर प्रमुख मिनाकुमारी लामाले सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँगको छलफलपछि भूगर्भ विभागसँग समन्वय गरेर औपचारिक पत्राचार गरिएको जानकारी दिइन्।

“हामीले यो घटनालाई सामान्य दुर्घटना भनेर हेर्न मिल्दैन। स्थानको भौगोलिक बनावट, माटोको बनोट तथा जमिनको स्थायित्वबारे वैज्ञानिक परीक्षण आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौं,” प्रमुख लामाले भनिन्।

उपमहानगरपालिकाका अनुसार भूगर्भ विभागको टोली आवश्यक प्रविधि र उपकरणसहित अध्ययन गर्न सोमबारसम्म हेटौंडा पुग्ने अपेक्षा गरिएको छ। अध्ययनपछि खोजी प्रक्रिया पुनः सुरु गरिनेछ।

स्थानीयवासी र वडास्तरका जनप्रतिनिधिहरूका अनुसार घटनास्थल विगतमा पनि दलदली क्षेत्रको रूपमा चिनिन्थ्यो। त्यहाँ दुईवटा माछा पोखरी रहेका छन् भने वरपरको जमिन सधैं चिसो र भिजेको रहने गरेको जनाइएको छ। स्थानीयहरूले विगतमा त्यही स्थानबाट गोरू समेत हराएको आशंका व्यक्त गरेका थिए, यद्यपि त्यसबारे पुष्टि भएको छैन।

विशेषगरी गाडी गायब भएको घटना कुनै सतही जमिन भासिएको घटना मात्र नभई त्यहाँको भूगर्भीय बनावटसँग सम्बन्धित हुन सक्ने आधारमा अब गहिरो अध्ययन गरिनेछ। भूगर्भविदहरूले सो क्षेत्रको माटो, पानीको बहाव, तथा जमिनको तहबारे विश्लेषण गरेर स्थायित्वबारे सुझाव दिने बताइएको छ।

उपमहानगरपालिकाले घटनास्थल वरपर ‘प्रवेश निषेध’ लेखिएको साइनबोर्ड राखेर आवत–जावतमा प्रतिबन्ध लगाएको छ। स्थानलाई सुरक्षित बनाउन प्रहरी र वडास्तरमा पनि निगरानी गरिएको छ।

“भासिएको जमिन अझै अस्थिर देखिएको छ। त्यो ठाउँ अहिले पनि भित्रभित्रै भासिन सक्ने जोखिम रहिएकाले हामीले सुरक्षा पहिलो प्राथमिकतामा राखेका छौं,” प्रमुख लामाले भनिन्।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img