हेटौँडा | नेपाल पुलिस क्लबले मकवानपुरमा जारी महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
आइतबार हेटौँडा-६ स्थित गौरीटार रंगशालामा भएको खेलमा पुलिसले रौतहट महिला टिमलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो। निर्धारित समयसम्म दुबै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।
रौतहटका तर्फबाट टाइब्रेकरमा रेविका पाण्डे, निरु थापा, उषा नाथ र सरु वाईबाले गोल गरे भने गिम कुमारी गुरुङको प्रहार बाहिर गयो। पुलिसका लागि सविना चौधरी र सलोनी रानाले गोल गरिन्। मनिषा श्रेष्ठ र अञ्जली चन्दको प्रहार भने पुलिसकी गोलरक्षक उषा नाथले उत्कृष्ट बचाउ गर्दै सेभ गरिन्।
उषा नाथको प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
यो जितसँगै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ। अब पुलिसले चितवनसँग उपाधि प्रवेशका लागि भिड्नेछ। चितवनले यसअघि आयोजक मकवानपुरलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ।
प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल सोमवार एपिएफ र वीरगंज युथ एकेडेमीबीच हुनेछ। प्रतियोगिताको फाइनल खेल बुधबारका लागि तय गरिएको छ।
विजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँसहित उपाधि हात पार्नेछ।