समाजगोरखामा सवा लाख रोट महोत्सव सुरु, ५० हजारभन्दा बढी भक्तजनको सहभागिता हुने

गोरखामा सवा लाख रोट महोत्सव सुरु, ५० हजारभन्दा बढी भक्तजनको सहभागिता हुने

गोरखा | ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि २२औँ सवा लाख रोट महोत्सव सुरु गरिएको छ। विश्व शान्तिको कामनासहित र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिद्धाश्रम शक्ति केन्द्र नेपालले महोत्सवको आयोजना गरेको हो।

गुरु गोरखनाथलाई मन पर्ने परिकार मानिने ‘रोट’ यस महोत्सवमा विशेष रूपमा चढाइने परम्परा छ। एघार दिनसम्म चल्ने महोत्सवको पहिलो दिन सदरमुकाम हरमटारी चोकबाट गोरखा दरबारस्थित गोरखानाथ गुफासम्म कलश र रथ यात्रा निकालिएको थियो। कार्यक्रमका संयोजक किशोरकुमार अकेलाका अनुसार, विगत २२ वर्षदेखि नियमित रूपमा रोट चढाउने परम्परालाई महोत्सवका रूपमा संस्थागत गरिएको हो।

उनले भने, “हाम्रो विश्वास अनुसार गोरखनाथ पहिलोपटक यही गुफामा प्रकट भएका थिए, त्यसैले यहाँ रोट चढाउने धार्मिक परम्परा विशेष छ। अहिले महोत्सवको रूपमा सवा लाख रोट चढाइँदैछ।”

रोट बनाउनका लागि चामलको पिठो, नरिवल, ल्वाङ, अलैँची, चिनी लगायत ५२ प्रकारका मसला घ्यूमा मिसाएर पकाइन्छ। परम्परागत मान्यताअनुसार, नेपाल एकीकरणका बेला राजा पृथ्वीनारायण शाहले आफ्ना सैनिकलाई रोट र एक माने पानी दिएपछि लामो समयसम्म लडाइँ लड्न सक्ने शक्तिशाली ऊर्जा प्राप्त भएको विश्वास पनि छ। त्यसैले रोटलाई ‘शक्तिवर्धक प्रसाद’ को रूपमा पनि हेरिन्छ।

महोत्सव अवधिभर देशभरबाट आउने भक्तजनका लागि आयोजक संस्थाले खाना, आवास र अन्य आवश्यक व्यवस्थापन मिलाएको छ। यसपटक करिब ५० हजारभन्दा बढी धार्मिक पर्यटकको सहभागिता रहने अनुमान गरिएको संयोजक अकेलाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img