समाजकिराँत समुदायले उँभौली पर्व धुमधामसँग मनाए

किराँत समुदायले उँभौली पर्व धुमधामसँग मनाए

काठमाडौं | किराँत समुदायले आज सोमबार परम्परागत उँभौली पर्व श्रद्धा र उल्लासका साथ मनाएका छन्। अन्नबाली सप्रियोस्, उत्पादन राम्रो होस्, र संसारभरि खाद्यान्नको अभाव नहोस् भन्ने कामनासहित वैशाख शुक्ल पूर्णिमाको दिन यो पर्व मनाउने परम्परा रहिआएको छ।

राजधानी काठमाडौंमा बसोबास गर्ने किराँत समुदायले गोकर्णेश्वर नगरपालिका–४ स्थित जगडोल सामुदायिक वनमा भेला भई उँभौली पर्व मनाए। पारम्परिक भेषभूषा, बाजागाजा र साङ्गीतिक माहोलमा उनीहरूले प्रकृति र पूर्वजप्रतिको श्रद्धा व्यक्त गरे।

उँभौली पर्वलाई बाली रोप्ने समयको संकेतका रूपमा लिइन्छ भने उँधौली पर्वलाई बाली भित्र्याउने समयको प्रतीकका रूपमा मनाइन्छ। किराँत धार्मिक विश्वास अनुसार, उँभौलीको समयमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिको रक्षा गर्ने विश्वास गरिन्छ। यही विश्वासमा आधारित भएर यो पर्व वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाइन्छ।

उँभौली पर्वको मुख्य आकर्षण चण्डी नाच हो। आजको दिन ‘चण्डी पूर्णिमा’का रूपमा पनि चिनिन्छ, जुन किराँत धर्मशास्त्रअनुसार सुम्निमा (पार्वती) को सृष्टि भएको दिन मानिन्छ।

उँभौलीले समुदायभित्र प्रकृति संरक्षण, कृषि चक्रप्रतिको सम्मान र सामूहिक एकतालाई झनै मजबुत बनाउने विश्वास गरिन्छ। काठमाडौंमा मनाइएको यो पर्वले शहरी क्षेत्रमै पनि परम्परागत संस्कृति जगेर्ना हुँदै गएको स्पष्ट देखिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img