हेटौँडा| हेटौँडा –१६ गैरीगाउँमा माछा बोक्ने क्रममा जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको खोजीमा जेसिभी प्रयोग गरिएको छ। जमिन भासिएर गाडी हराएको १७ दिनपछि जेठ ६ गतेदेखि सतर्कता अपनाएर उत्खनन कार्य सुरु गरिएको हो।
गत वैशाख १९ गते माछापालन क्षेत्र गैरीगाउँमा ना.४ च. ४८३३ नम्बरको बोलेरो गाडी माछा अनलोड गर्ने क्रममा जमिन भासिएर पुरिएको थियो। लगातार तीन दिनसम्म खोजी गर्दा गाडी फेला नपरेपछि वैशाख २३ गते हेटौंडा उपमहानगरपालिकाको समन्वयमा भूगर्भशास्त्रीलाई बोलाएर अध्ययन गरिएको थियो।
खानी तथा भूगर्भ विभागका विज्ञको प्रारम्भिक अध्ययन अनुसार, सो क्षेत्रको माटोमा अत्यधिक पानी भिजेर भएको बारिङका कारण जमिन भासिएको निष्कर्ष निकालिएको थियो। विभागको टोली पुनः जेठ २ गते आएर माटोको परीक्षणका लागि नमुना संकलन गर्यो। परीक्षण रिपोर्ट अनुसार, जमिन भासिएको क्षेत्रमा जेठ ६ गतेदेखि सतर्कताका साथ जेसिभी प्रयोग गरेर गाडी खोज्ने काम थालिएको हो।
हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको सक्रियतामा क्रेन र स्काभेटरको सहयोगमा खोजी गर्दा गाडीका केही पार्टपुर्जा फेला परेको जानकारी दिइएको छ। खोजी कार्य अझै जारी रहेको छ।
गाडी चालकको पीडा: ‘लुकाएको थिएन, अब निद्रा लाग्ला जस्तो छ’
गाडी चालक तथा धनी हरेराम राईले सामाजिक सञ्जालमा आफूलाई गाडी लुकाएको आरोप लगाइएको भन्दै पिडा व्यक्त गरेका छन्। “लुकायो भन्ने टिप्पणीले मानसिक तनाव थपिएको थियो, न भोक लाग्थ्यो न निन्द्रा, आज त निद्रा लाग्ला जस्तो छ,” उनले भने।
राईका अनुसार, प्रहरीका एक अधिकारीले समेत गाडी अन्तै लुकाएर हराएको आरोप लगाएका थिए। “अब त केही भाग भेटिएपछि केही शान्ति मिलेको छ,” उनले भने।
हरेराम राईले हालसम्म कुनै किसिमको राहत नपाएको बताउँदै स्थानीय, प्रदेश वा संघ सरकारबाट राहतको अपेक्षा रहेको बताएका छन्। खोजी कार्य फेरी पनि भोलिदेखि निरन्तर चलाइने जनाइएको छ।



