भक्तपुर | भक्तपुरको सूर्यविनायकमा आइतबार मृत अवस्थामा फेला परेकी रोशनी शाहीको दुई पृष्ठ लामो सुसाइड नोट फेला परेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी ढुण्डिराज नेउपानेका अनुसार उक्त नोटको हाल परीक्षण प्रक्रिया अघि बढाइएको छ।
जेठ ११ गते दिउँसो सूर्यविनायक नगरपालिका–३ स्थित बालकोट वृहस्पति मार्गमा लक्ष्मीश्वर महतोको घरको पहिलो तलामा शाही मृत भेटिएकी थिइन्। शवसँगै फेला परेको नोटमा उनले आफ्ना छोरालाई सम्बोधन गर्दै ‘जीवनदेखि हार खाएँ’ भन्ने शब्द लेखेकी छन्।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, रोशनीले नोटमा लेखेकी छन्, “छोरा, मैले तिम्रो भविष्यका लागि केही गर्न सकिनँ। जीवनदेखि हार खाएँ। तिमीलाई पैसा पठाउन नसके आत्महत्या गर्छु भनेर सोचिरहेकी थिएँ।”
उनले बाँकेको कोहलपुरमा रहेको १७ कट्ठा सम्पत्तिको विवरण समेत उल्लेख गरेकी छन्। शाहीका छोरा अमेरिका र छोरी पनि विदेशमा बस्दै आएका छन्।
शाहीका श्रीमान चित्रजंग शाही १५ दिनअघि विराटनगर गएका थिए। लामो समयसम्म ढोका नखुल्दा घरधनीले उनीसँग सम्पर्क गरी जानकारी दिएका थिए। चित्रजंगकै आग्रहमा प्रहरीको उपस्थितिमा जनप्रतिनिधिको रोहबरमा ढोका फुटाइएको र त्यसपछि शाहीलाई घोप्टो परेको अवस्थामा मृत भेटिएको भक्तपुरका डीएसपी नेउपानेले जानकारी दिए।
शाहीले ओभरडोज औषधी सेवन गरेको आशङ्का गरिएको छ। अनुसन्धान टोलीका अनुसार, डिप्रेसनको औषधी सेवन गर्ने भएकाले मृत्युको कारण पोस्टमार्टम र भिसेरा परीक्षण पश्चात् मात्र यकिन हुनेछ।
उनको शव हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।