समाजमनसुन यही जेठ १८ गतेदेखि असोज १४ गतेसम्म सक्रिय रहने

मनसुन यही जेठ १८ गतेदेखि असोज १४ गतेसम्म सक्रिय रहने

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो मनसुनसँग सम्बन्धित पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज जल तथा मौसम विज्ञान विभाग, बबरमहल पुगेर जानकारी लिएका छन्।

यस वर्ष गत वर्षको तुलनामा अधिक वर्षा हुने सम्भावना रहेको पूर्वानुमानको सन्दर्भमा विभागको सूचना प्रवाह प्रणाली, पूर्वतयारी अवस्था र जनधनको क्षति कसरी न्यून गर्न सकिन्छ भन्नेबारे प्रधानमन्त्रीले चासो देखाएका हुन्।

विभागको प्राविधिक टोलीबाट गरिएको प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले पूर्वानुमान र जानकारीलाई जनताले सहजै बुझ्ने भाषामा प्रभावकारी ढंगले सम्प्रेषण गर्न निर्देशन दिए।

उनले भने, “विपद् रोक्न सूचनाको सही समयमै प्रवाह महत्त्वपूर्ण हुन्छ। जनताको ज्यान जोगाउन हामी सजग हुनैपर्छ।”

प्रधानमन्त्री ओलीले देशभरका मौसम स्टेशनहरू तन्दुरुस्त अवस्थामा राख्न, अति जोखिमयुक्त क्षेत्रहरू पहिचान गरी स्थानीय तह, सुरक्षा निकाय र सञ्चार माध्यममार्फत सूचित गर्न पनि निर्देशन दिए।

विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मनसुन यही जेठ १८ गतेदेखि असोज १४ गतेसम्म सक्रिय रहने जानकारी दिए। उनका अनुसार गण्डकी, लुम्बिनीको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी क्षेत्रहरूमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ।

महानिर्देशक जोशीले प्रधानमन्त्री तहबाट पहिलोपटक कार्यालयमै आएर गरिएको स्थलगत निरीक्षणलाई ऐतिहासिक भएको बताए। उनले सीमित स्रोतसाधनका बाबजुद पनि विभागले उपलब्ध प्रविधिको अधिकतम प्रयोग गर्दै पूर्वानुमानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजा र अन्य उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img