हेटौँडा | बेलिब्रिज जडान कार्य सम्पन्न भएपछि मकवानपुर र ललितपुरलाई जोड्ने कान्ति राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। बागमती नदीको बगुवा खोलामा गएराति बेलिब्रिज राखिएको हो।
कान्ति राजमार्ग सडक आयोजनाका प्रवक्ता इन्जिनियर उपेन्द्र महराले बिहान ९ बजेदेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको जानकारी दिएका छन्।
गत वर्ष असोजमा आएको बाढीले पुलको मकवानपुरतर्फको संरचना भत्काएको थियो। त्यसयता अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। तर, साना बाढीले समेत डाइभर्सनमा राखिएका ह्युमपाइप बगाउने गर्दा यात्रुहरूलाई बारम्बार समस्या हुँदै आएको थियो।
बेलिब्रिज जडानका लागि पछिल्ला चार दिनदेखि डाइभर्सनमार्फत यातायात पनि रोकिएको थियो।