बागमती प्रदेशमकवानपुरराक्सिराङबाट ठूलो परिमाणमा लागूऔषध र हातहतियार बरामद, स्याङतान तेस्रोपटक पक्राउ

राक्सिराङबाट ठूलो परिमाणमा लागूऔषध र हातहतियार बरामद, स्याङतान तेस्रोपटक पक्राउ

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ स्थित राजु स्याङतानको घरबाट ठूलो परिमाणमा लागूऔषध तथा अवैध हातहतियार बरामद गरिएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा  र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले १० राउन्ड हवाई फायर गर्दै स्याङतानलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विश्व खडकाक अनुसार अनुसार स्याङतानको घरमा सोमबार साँझ ७ बजे विशेष सूचनाका आधारमा खानतलासी गर्दा सुत्ने कोठाको सिरानीमुनी लुकाइएको अवस्थामा ‘युनिभर्सल मेड इन इटाली’ लेखिएको ७.६५ एमएमको पेस्तोल १ थान, म्यागजिन २ थान र १३ राउन्ड गोली बरामद गरिएको थियो।

यस्तै गोठको दोस्रो तल्लामा मकैको खोस्टा र पत्करभित्र प्लास्टिकको झोलामा लुकाइएको अर्को कटुवा पेस्तोल १ थान, ८ एमएम लेखिएको १२ राउण्ड गोली, करिब १ किलो ३१० ग्राम अफिम जस्तो देखिने गिलो पदार्थ र २२ किलो ८ सय ग्राम गाँजा समेत फेला परेको प्रहरीले जनाएको छ।

सोही दिन साँझ ७:३० बजेतिर राक्सिराङ–१ ढुंगेनस्थित चन्द्रलाल मोक्तानको बारीमा रहेको आँपको रुखमुनि बेवारिसे अवस्थामा रहेको सेतो झोलाबाट समेत थप एक थान कटुवा पेस्तोल, ५ राउन्ड गोली र १ किलो ४८० ग्राम अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनुभयो।

राजु स्याङतान यसअघि पनि दुईपटक लागूऔषध तथा हातहतियार सम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय काटिसकेका व्यक्ति हुन्। २०७१ सालमा लागूऔषध मुद्दामा पक्राउ परी २ वर्ष कैद सजाय भुक्तान गरेका स्याङतान २०७६ साल साउन ४ गते गाँजा तथा हातहतियारसहित पुनः पक्राउ परेका थिए। उनलाई ५ वर्ष ६ महिना कैद सजाय सुनाइएको थियो भने माघ २०८१ मा मात्र जेलमुक्त भएका थिए।

पुनः पक्राउ परेका स्याङतानमाथि हाल लागूऔषध तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनलाई ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरी स्रोतका अनुसार स्याङतानलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासीले प्रतिरोध गर्दै प्रहरीमाथि ढुंगामुढा गरेका थिए। सो क्रममा एक जना प्रहरी घाइते भएका छन् भने प्रहरीको सवारीसाधनमा समेत क्षति पुगेको छ। सुरक्षाको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीको अर्को टोली पनि घटनास्थलमा पुगेको थियो।

यसबीच, सोही दिन मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–२ स्थित पुजा श्रेष्ठको घरमा लागूऔषध सेवन तथा कारोबार भइरहेको विशेष सूचनाको आधारमा छापा मार्दा थप तीन जना पक्राउ गरेका छन्। पक्राउ पर्नेमा हेटौंडा–२ की २४ वर्षीया पुजा श्रेष्ठ, हेटौंडा–१ का २० वर्षीय रिकेश तन्दुकार र २४ वर्षीय रितिक उर्फ राजिब तन्दुकार रहेका छन्। उनीहरूबाट १ ग्राम ३४० मिलीग्राम लागूऔषध (खैरो हेरोइन) बरामद गरिएको प्रहरीको दाबी छ।

बारम्बार सजाय भुक्तान गरिसकेका स्याङतान पुनः लागूऔषध र हातहतियारसहित पक्राउ पर्नु र गाउँले स्वयं प्रहरीमाथि आक्रमण गर्नुले गाउँस्तरमै तस्करीको सञ्जाल कति शक्तिशाली बनिसकेको छ भन्ने संकेत गर्दछ। प्रहरीले यसलाई समूल नियन्त्रणका लागि थप अनुसन्धान र रणनीतिक कारबाही आवश्यक रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img