हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयले यस शैक्षिक सत्रदेखि विज्ञान संकायमा अध्ययन गर्ने विद्यार्थीलाई पूर्णरूपमा निशुल्क पढाउने घोषणा गरेको छ।
विद्यालयले वडा नं. १६ को आर्थिक तथा संस्थागत सहयोगमा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गर्दै यो अभियान सुरु गरेको हो। विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईँले यो कार्यक्रमले दक्ष जनशक्ति उत्पादनमा थप योगदान गर्ने बताए। “गुणस्तरीय शिक्षामा हामी सुरु देखिनै काम गर्दै आएका छौं। विज्ञान पढाउनका लागि आवश्यक दक्ष जनशक्ति पहिल्यैदेखि विद्यालयसँग उपलब्ध छ। थप जनशक्ति आवश्यक छैन,” उनले भने।
प्रधानाध्यापक चौलागाईँका अनुसार विज्ञान संकायमा भर्ना हुने विद्यार्थीहरू निर्धक्क भएर अध्ययन गर्न आउन सक्नेछन्। टाढाबाट आउने विद्यार्थीका लागि छात्रावासको समेत व्यवस्था गरिएको उनले जानकारी दिए।
वडा नं. १६ का अध्यक्ष तथा सामाजिक विकास संयोजक रामकृष्ण कोइरालाले विज्ञान तथा गणितजस्ता क्षेत्रमा देशमै दक्ष जनशक्तिको अभाव रहेकाले यस्तो कदम चालिएको बताए। “आर्थिक कारणले योग्य विद्यार्थीले विज्ञान पढ्न नसक्ने अवस्था अन्त्य गर्न यो कार्यक्रम उदाहरणीय बन्ने विश्वास लिएका छौं,” उनले भने।
जनप्रिय माविले यसअघि नै शिक्षा, मानविकी, व्यवस्थापन, बालविज्ञान (कक्षा ९–१२) र प्राविधिक धारअन्तर्गत बालविज्ञान, पशुविज्ञान र इलेक्ट्रिकल इन्जिनियरिङजस्ता रोजगारीमुखी विषयहरू सञ्चालन गर्दै आएको छ। विद्यालयले स्वरोजगारमुखी दक्ष जनशक्ति उत्पादनमा समेत उल्लेखनीय भूमिका खेलेको छ।



