काठमाडौँ | मकवानपुरको सिस्नेरीस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा तालिम लिइरहेका ६ किशोर खेलाडी २०८१ असोज १२ गते पहिरोमा पुरिए। एन्फाले जोखिमपूर्ण स्थानमा एकेडेमी चलाएको र बाढी–पहिरोको चेतावनीको बेवास्ता गरेको भन्दै पीडित परिवारहरूले एन्फालाई नै दोषी ठहर गरेका छन्।
ज्यान गुमाउनेमा बारा, मकवानपुर, सर्लाही र काठमाडौंका ११–१४ वर्ष उमेरका किशोर खेलाडीहरू थिए। उनीहरू पाँच महिना अघिमात्रै जिल्ला, प्रदेश हुँदै केन्द्रमा छनोट भई सिस्नेरी एकेडेमी पुगेका थिए।
बाराकी कमला रेग्मीलाई अझै छोरा विकलको त्यो वाक्य याद छ : “ममी, म राष्ट्रिय खेलाडी बन्छु। पढाइ पनि सँगै गर्छु।” तर, त्यही फुटबल मोहले उनको ज्यान गयो।
विकल रेग्मी (११) सहित अनुपम घलान, साइमन योन्जन, दिवस बानियाँ, आदित्य बलम्पाखी र प्रियान्स आचार्यको ज्यान गएको थियो।
किन पुरिए किशोर खेलाडीहरू?
एन्फाले सातदोबाटोको एकेडेमीबाट २०८० चैतमा खेलाडीहरूलाई मकवानपुरको इन्द्रसरोवर–२ सिस्नेरी सार्यो। उक्त स्थान पहिरो र डुबान जोखिमयुक्त मानिन्छ। जलविद्युत् केन्द्रले घटना हुनुअघि नै बाढी र डुबानको चेतावनी दिएका थिए।
तर, एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले चेतावनीलाई बेवास्ता गर्दै सामाजिक सञ्जालमै ‘आतंक नगरौँ’ भन्दै पोस्ट गरेका थिए। घटना भएको भोलिपल्ट उनले पोस्ट हटाए।
त्यो दिन बिहान ६ बजे कुलेखानी ड्यामको ढोका खुलेपछि खोलो उर्लियो। खेलाडीहरूलाई हतार–हतार असुरक्षित बाटो हुँदै सुरक्षित स्थानमा लैजाँदा ६ जना बालक बीचमै पहिरोमा परेका थिए। उनीहरूको शव तीन दिनसम्म निकाल्न नसकिएको पीडित परिवारको आरोप छ।
‘गधा जसरी झोला बोकाएर दौडाए’
आदित्य बलम्पाखीका संरक्षक भरत बहादुर थापाले भने, “बच्चाहरूलाई गधा जसरी झोला बोकाएर दौडाए। पछि लास पाउन तीन दिन लाग्यो।”
साइमन योन्जनका बाबु हेमले भने, “४० खेलाडीलाई एक जना गार्डको भरमा छाडेर जिम्मेवारहरू भागे। त्यसैले यो भयो।”
घटनामा परेका दिवस बानियाका दाजु बिबसले भने, “बाबुले फोन गर्दा ‘हामी सुरक्षित ठाउँमा जाँदैछौँ’ भनेको थियो। तर, असुरक्षित बाटो हुँदै लैजाँदा पहिरोले बगायो।”
एन्फा : जवाफ दिन तयार छैन
एन्फा प्रवक्ता सुरेश शाहले “विचाराधीन मुद्दा भएकाले अहिले केही भन्न सकिन्न” भन्दै प्रतिक्रिया दिन मानेनन्। तर, ठकुरीले भने “जिम्मा जलविद्युत्को छ। उनीहरूले रक्सी खाएर ढोका खोले।”
प्रधानमन्त्रीलाई पनि भेटे तर…
पीडित अभिभावकहरू प्रधानमन्त्री र गृहमन्त्रीसम्म पुगे। तर, चासो नदिएपछि सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
“प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर पनि केही भएन। अब अदालतबाटै न्याय खोजिरहेका छौँ,” भरत बहादुर थापाले भने।
६ किशोरको सपना पहिरोमा पुरियो
छनोटमा परेर देशकै शीर्ष खेलाडी बन्ने सपना बोकेका किशोरहरूको खेल जीवन ५ महिनामै समाप्त भयो। शिक्षक, प्रशिक्षक र परिवारले भरोसा गरेर पठाएका ती किशोरहरूका सपना सँगै परिवारका आशा पनि पहिरोले बगायो।
कमला रेग्मी भन्छिन्, “न म गल्ती गरें, न उसले। एन्फाको लापरवाहीले बच्चा गुमाएँ। अब न्याय चाहिन्छ।”



