हेटौँडा | देशभर शिक्षण क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभाव समाधान गर्न हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले नवोदय इनोभेसन सेन्टरको सहकार्यमा शिक्षाशास्त्र संकाय सञ्चालन गर्ने भएको छ।
पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढ्न पाउने व्यवस्था गरिएको यो कार्यक्रममा सहभागी विद्यार्थीले मासिक १ हजार रुपैयाँ पाकेट खर्च(भत्ता) पाउने र पढाइ सकेपछि रोजगारीको सुनिश्चितता गरिने दाबी गरिएको छ।
स्कूलले बिहीबार पत्रकार सम्मेलन गर्दै आगामी साउन ११ गतेबाट कक्षा सञ्चालन गर्ने जनाएको हो। नेपाली, सामाजिक, अङ्ग्रेजी, विज्ञान र गणित विषयमा ३० जना विद्यार्थीलाई शिक्षाशास्त्र संकायमा भर्ना गरिनेछ।
हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले सामाजिक उत्तरदायित्वको अनुभूति गर्दै नाफामुखी संस्थाबाट यस्तो कार्यक्रम ल्याएको बताए। ‘शिक्षक अभाव हटाउन दक्ष जनशक्ति उत्पादनका लागि अभ्यासमुखी पठनपाठनसहितको यो कार्यक्रम ल्याएका हौँ,’ उनले भने, ‘छात्रवृत्तिमा पढेका विद्यार्थीलाई स्नातक तहसम्म निरन्तरता दिने योजना छ।’
नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनालले विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासका कार्यक्रम, कक्षा शिक्षण अभ्यास र मेन्टरिङमा जोड दिइएको जानकारी दिए। उनका अनुसार विद्यार्थीले पाठ्यक्रमसँगै साताको दुई–तीन दिन अभिप्रेरणामूलक कक्षामा सहभागी हुन पाउनेछन्।
शिक्षाशास्त्र संकायतर्फ पढ्ने विद्यार्थीका लागि पाठ्यक्रमबाहेक विद्यालय अवलोकन, कक्षा शिक्षण, शिक्षण कार्यशाला, बुट क्याम्प, पोर्टफोलियो विकास र प्रदर्शनीजस्ता गतिविधिहरू सञ्चालन गरिनेछ।
हप्तामा दुई दिन विद्यार्थीलाई तीन समूहमा बाँडी विद्यालयस्तरका विषय र सीप सिकाइने र त्यस दिन निशुल्क भोजनको व्यवस्था गरिने जनाइएको छ। हरेक शुक्रबार पुस्तक परिचर्चा र शिक्षा संवाद कार्यक्रममार्फत विद्यार्थीको भाषा र आलोचनात्मक सोच्ने सीपलाई धार दिने योजना छ।
‘विद्यार्थीलाई विभिन्न विद्यालयमा काम गर्ने शिक्षकको शैली र प्रशासन बुझाउने मौका दिइन्छ,’ प्राचार्य जोशीले भने, ‘साथै आफूले सिकेका कुरा कक्षामा प्रकट गर्ने र मूल्याङ्कन प्रक्रियामा पनि सहभागी हुने अवसर मिल्नेछ।’
शिक्षक उत्पादनका लागि यो कार्यक्रमलाई दीर्घकालीन योजना बनाइएको विद्यालयले जनाएको छ। कक्षा ११–१२ सकेपछि ती विद्यार्थीलाई लक्षित गर्दै स्नातक तहमा पनि शिक्षाशास्त्र संकाय सञ्चालन गरिनेछ।
नवोदय शिशु सदनले लाब स्कुलको भूमिका निर्वाह गरेर प्रशिक्षार्थीलाई प्रयोगात्मक सिकाइ दिनेछ भने नवोदय इनोभेसन सेन्टरले विद्यार्थीलाई नियमित रूपमा मेन्टरिङ गर्नेछ।
विद्यालयका अनुसार विज्ञान विषय ऐच्छिक नभए पनि यही कार्यक्रममार्फत विज्ञान शिक्षक पनि उत्पादन गरिनेछ। प्रशिक्षार्थीलाई साप्ताहिक रूपमा विषयगत अध्यापनमा सक्षम बनाउने तालिम दिइनेछ।
विद्यालयले शिक्षण दक्षता अभिवृद्धिका लागि ‘फर्मेटिभ एसेसमेन्ट’ पद्धतिमार्फत विद्यार्थीको मूल्याङ्कन गर्दै सिकाइमा सुधार गर्ने लक्ष्य राखेको छ।
प्राचार्य जोशीले भने, ‘दक्ष शिक्षक नै उत्कृष्ट शिक्षा दिन सक्छन् भन्ने हाम्रो मान्यता हो। त्यसैले शिक्षण पेसामा योग्य जनशक्ति पठाउन हामीले यो अभ्यास सुरु गरेका हौँ।’



