हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९औं स्थापना दिवसको अवसरमा हेटौँडाका दुई संस्कृत विद्यालयमा खाद्यान्न वितरण गरेको छ।
संघले हेटौँडा–१०, राप्तीतटस्थित संस्कृत वेद विद्यालय र हेटौँडा–१८, ठूलोदमार हर्नामाडीस्थित वैदिक संस्कृत गुरुकुललाई खाद्यान्न सहयोग गरेको हो।
हेटौँडा–१० मा भएको कार्यक्रममा संघ अध्यक्ष प्रमोदसिंह रानाभाटको सभाध्यक्षता, वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्य तथा विद्यालय प्रमुख गणेश धितालको सहभागिता थियो। उक्त विद्यालयमा हाल ४० विद्यार्थीले संस्कृतसहित अंग्रेजी र गणित विषय अध्ययन गरिरहेका छन्।
यस्तै, वैदिक संस्कृत गुरुकुलमा संघ अध्यक्ष रानाभाटकै सभाध्यक्षता र वडा अध्यक्ष अनिल बानियाको प्रमुख आतिथ्यमा खाद्यान्न वितरण कार्यक्रम भएको थियो। कार्यक्रममा संघ सचिव नेत्रप्रसाद खतिवडा, महिला उद्यमी विकास समिति अध्यक्ष सीतादेवी भेटवाललगायतको सहभागिता थियो।
गुरुकुलमा हाल १९ विद्यार्थी र तीन शिक्षक छन्। विद्यालयले जडिबुटी खेती, गौशालालगायत स्थापना गर्ने लक्ष्य राखेको छ। विद्यालय उपाध्यक्ष केशवराज पण्डितले खाद्यान्न सहयोग अत्यावश्यक समयमा प्राप्त भएको भन्दै संघप्रति आभार प्रकट गरे।



