हेटौँडा | जेनजी आन्दोलनका क्रममा विद्यार्थीहरूसँगको संवाद सार्वजनिक भएपछि आलोचनाको घेरामा परेकी हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आन्दोलनपछि पहिलो पटक औपचारिक विज्ञप्ति जारी गर्दै माफी मागेकी छन्।
आइतबार जारी विज्ञप्तिमा मेयर लामाले भनिन्, “मन दुखाएको भए माफी चाहन्छु, नियत त्यस्तो थिएन।” उनले थपेकी छन् कि अभाव, अन्याय र विभेदका अनेक रूप आफूले भोगेकी भएकाले मधेस वा अन्य प्रदेशबाट हेटौँडामा अध्ययन गर्न आएका विद्यार्थीहरूसँग विभेद गर्ने कुरा उनको मनमा कहिल्यै थिएन।
मेयर लामाले विद्यार्थीहरूले आन्दोलनमार्फत राखेका मागलाई जायज ठहर गर्दै भनिन्, “देशभरका विद्यार्थीहरू आफ्नो उच्च शिक्षाको भविष्यप्रति चिन्तित छन्। त्यसैले हेटौँडामा क्याम्पसमा भर्ना भएका सबै विद्यार्थीले नियमअनुसार छात्रवृत्ति पाउँदै आएका छन्।”
आफ्नो व्यक्तिगत संघर्ष र पहिचानको कुरा गर्दै उनले स्मरण गरिन्, “म सामान्य तामाङ परिवारकी छोरी हुँ। महिला, जनजाति, त्यसमा पनि तामाङ भएकै कारण मैले भोगेका पीडाले धेरै नानीबाबुलाई पढाउन सहयोग गरेको छु। आज ती नानीबाबुहरू सफल भएको देख्दा म आमा बन्ने सौभाग्य पाएकी छु।”
साथै मेयर लामाले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका कारण अनावश्यक प्रचार भएको दाबी गरेकी छन्। “भदौ २३ गतेकै साँझ मैले विद्यार्थी प्रतिनिधिसँग छलफल गरी माफी माग्दै भिडियो सन्देश सार्वजनिक गरेकी थिएँ। तर विषयलाई लिएर मेरो छवि बिगार्ने काम भएको छ,” उनले भनिन्।
आन्दोलनपछिको चापबीच मेयर लामाको विज्ञप्ति आत्मस्वीकृति र आत्मसमर्पण दुवैको स्वरमा आएको देखिन्छ। आलोचनाको घेरामाझैँ भए पनि उनले हेटौँडावासीलाई आश्वस्त पार्ने प्रयास गरेकी छन्। उनले भनिन्, “म हेटौँडाको माटोले जन्माएकी चेली हुँ, नगरवासीको मन दुखाउने काम मैले गरेकी छैन। अभिभावककै रूपमा विद्यार्थीहरूका गुनासा सुन्न सधैं तयार छु।”



