समाजनेपाली सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

नेपाली सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

लन्डन — नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् । बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् ।

विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुन: अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।

सिरहा कर्जन्हाका सन्तोषले १८ विभिन्न नेपाली ‘भेगन’ खाना प्रस्तुत गरेका थिए । दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए ।यसअघि तराईको खाना समेट्न नपाएका उनले यसपटक त्यो धोको पूरा गरे । सन्तोषले लामो समय नेपाल बस्दा आफ्नी आमाबाट सिकेको सीप यो पटक सदुपयोग गरेको बताए ।

निर्णायकहरुले सन्तोषको खानाको तारिफ गर्दै उनलाई जिताएनन् मात्र, एक निर्णायकले त आफूलाई पनि एकपटक नेपाल लैजान अनुरोध गरिन् ।‘पुन: प्रतिस्पर्धामा जान चुनौतीपूर्ण थियो, मैले साहस र तयारी गरेर सफलता प्राप्त गरें,’सन्तोषले कान्तिपुरसँग भने, ‘यो नेपाल र समस्त नेपालीको जित हो । अब नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाउने मेरो धोकोले थप सार्थकता पाएको छ ।’

बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल यूके’ मा नेपाली खाना लिएर उपविजेता बनेका सन्तोषको ख्याति गत वर्षदेखि देश विदेशमा चुलिएको थियो ।

गत वर्ष ३२ चर्चित सेफबाट सुरु भएको उक्त प्रतियोगितामा साह विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भए ।उनको मौलिक नेपाली खाना पारखीहरुका लागि कुकबुक ‘आयला’ पनि प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img