सन् २००१ को सेप्टेम्बरमा रिलिज भएको हिन्दी चलचित्र ‘नायक’को चर्चा अहिलेसम्म पनि सेलाएको छैन । चलचित्रमा अभिनेता अनिल कपूर १ दिनको मुख्यमन्त्री बन्छन् । मुख्यमन्त्री बनेको चौबिस घण्टामा उनले केके गरे, त्यो अधिकांश नेपाली दर्शकले हेरेका छन् ।
पत्रकारको पृष्ठभूमिबाट राजनीतिमा आएका शिवाजी रावको चरित्र अनिल कपूरले निर्वाह गरेका थिए । मुख्यमन्त्री बलाराज चौहानको भूमिकामा अमरिश पुरी थिए । एक अन्तर्वार्ताका क्रममा मुख्यमन्त्री बलराज चौहानले शिवजी रावलाई एक दिन मुख्यमन्त्री बनेर काम गर्ने चुनौती दिए ।अध्यादेशमार्फत कानूनी जटिलता फुकाएर शिवाजी रावलाई एक दिनको मुख्यमन्त्री बनाइएको थियो । मुख्यमन्त्रीका रूपमा अनिल कपूरको प्रस्तुती दमदार थियो नै, उनले आफ्नो चरित्रमार्फत भारतीय राजनीतिमा हुने सबैखालका भ्रष्टाचार, साम, दाम, दण्ड र भेदको खुलासा गरिदिए । दिन सकिनै लाग्दा भ्रष्टाचारको आरोपमा मुख्यमन्त्री बलराज चौहानलाई नै जेलमा हालिदिए ।
नायक फिल्मको चर्चा नेपाली राजनीतिमा पनि बेलाबखत हुने गर्छ । शान्तिप्रक्रियामा आएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय आन्तरिक प्रशिक्षणमा आफूले चान्स पाए नायकमा अनिल कपूरले जस्तै काम गरेर देखाउने बताउने गर्थे ।त्यसयता प्रचण्ड पटक-पटक प्रधानमन्त्री पनि भए, उनमा नायकत्व भने आएन ।भारतमा नायक रिलिज भएको २१ वर्षपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले अनिल कपूरको छबी ‘कपी’ गर्न खोजेका छन् । आइतवार उनी पशुपति क्षेत्रभित्र रहेको मैत्री धर्मशालामा निरीक्षण गर्न जाँदा धेरैले अनिल कपूरलाई सम्झेको हुनुपर्छ ।पशुपति क्षेत्रभित्र भारतको सहयोगमा बनेको धर्मशाला निजी व्यवसायीक कम्पनी समूह बतासलाई यसअघिको सरकारले लीजमा दिएको थियो ।
तीर्थाटन गर्न आउने पर्यटकलाई सहज र सस्तो खाना र बसोबासको बन्दोबस्त गर्ने गरी भाडामा दिइएको भनिएता पनि त्यहाँ विकास गरिएका संरचना सेभेन स्टार होटेलको जस्तो रहेको आलेले निरीक्षणका क्रममा सञ्चारमाध्यमहरूलाई बताए ।आले निरीक्षणमा जाँदा सञ्चारकर्मीहरू अघिपछि थिए । त्यही धर्मशाला छानबिन गर्न गठित समितिका प्रतिनिधिहरू दायाँ बायाँ थिए । बेलाबेलामा आलेले सोध्ने गर्थे, ‘उ त्यो संरचना कानूनी रूपमा बनाइएको हो कि गैरकानूनी ?’ कर्मचारीहरूको जवाफ हुने गर्थ्यो, ‘खै, म आउनु भन्दा अघि बनेको हो ।’त्यसपछि आले जंगिए । ‘जसको पालामा बनेपनि त्यो कानूनी हो कि गैर-कानूनी ?’ छानबिन समितिका एक सदस्य हस्याङ-फस्याङ गर्दै नजिकै आएर भने, ‘गैर-कानूनी हो हजुर ।’धर्मशालामा गाडीको शो-रूम देखि गहना पसलसम्म थिए । उच्च वर्गका लागि बनाइएको जस्तो देखिने संरचनाहरू देखेपछि आलेले भने, ‘यो त धर्मशाला होइन, सेभेन स्टार होटेल पो रहेछ ।’
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रभित्र बनाइएको धर्मशालालाई ‘सेभेन स्टार होटेल’मा रुपान्तरण गरेको थियो बतास समूहले । यसअघि नारायणहिटी दरबार संग्राहलयभित्र पनि आलेले यस्तै गरी निरीक्षण गरेका थिए ।क्याफ्टेरिया संचालन गर्न लिइएको ६ आना जग्गा मात्र होइन, आलेले १४ रोपनी जग्गा अतिक्रमण भएको भेटाए । त्यसपछि उनले आफैं ती संरचना भत्काए । त्यससम्बन्धी गठन गरिएको छानबिन समितिले प्रतिवेदन दिइसकेको छ । छानबिन प्रतिवेदन सार्वजनिक भएपछि नारायणहिटी दरबार संग्राहलयका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।नारायणहिटी दरबार रेष्टुरेन्ट ठेक्का प्रकरणमा मुछिएपछि विवादित बनेका उनले राजीनामा दिएका थिए । ठेक्का प्रकरणमा उनी सामेल रहेको प्रतिवेदनले बताएको थियो । सहसचिव लुइँटेलको संयोजकत्वमा गठित समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै ठेक्का प्रक्रियामै गडबडी भएको निचोड निकालेको थियो ।सो प्रकरणबारे छानबिन गर्न लुइँटेलको संयोजकत्वमा गठित समितिले सोमबार २१ पेज लामो प्रतिवेदन सार्वजनिक गरेको हो ।
पशुपति क्षेत्रमा स्थापना गरिएको धर्मशालामा अवैध संरचना स्थापना भएको भन्दै गत शुक्रवार मन्त्री आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको थियो ।नेपाल–भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि गठन गरिएको उक्त समितिले सोमवार आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने बताएको छ ।आज निरीक्षणका क्रममा आलेले धर्मशालाभित्र अवैध गतिविधि भएको र त्यसको छानबिन भइसकेको बताए । ‘भोलि सार्वजनिक हुने प्रतिवेदनले दूधको दूध र पानीको पानी ल्याउनेछ,’ आलेले भने ।उक्त धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह) लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ । धर्मशालाका विषयमा छानबिनका लागि युवा संघ नेपालको टोलीले पनि मन्त्री आलेलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।
आलेको पूर्व पर्यटनमन्त्री योगेश भट्टराईसँग पनि टसल परेको छ । भट्टराईले आलेलाई लन्डनबाट नेपाल आउँदा रक्सी र रोलेक्स घडी ल्याएको आरोप लगाएका थिए । आलेले त्यसको प्रतिवाद गर्दै उल्टै भट्टराई हतियार तस्करीमा लागेको आरोप लगाए ।यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीकै पालामा पशुपतिको धर्मशाला आनन्द समूहलाई भाडामा दिइएको थियो भने भट्टराई विभागीय मन्त्री थिए । भट्टराईले बतास समूहसँग आफ्नो कुनै साइनो नरहेको बताउँदै आइरहेका छन् ।यत्तिकैमा रोकिने आलेको छाँट छैन । उनले देशभरिका ऐतिहासिक, पर्यटकीय क्षेत्रमा निजी व्यवसायीक समूहले गरेको लूटको पर्दाफास गर्ने गरी आले अघि बढेका छन् । आलेले आफ्नो पछिल्ला गतिविधिहरूबाट नायक चलचित्रका अनिल कपूरको याद दिलाएका छन् ।