यहीँ हुर्केर, यहीँको शिक्षा, संस्कार, र परिवेशमा ढल्केका म जस्ता हजारौं युवाको मनमा एउटा द्वन्द्व सधैं घुमिरहन्छ – स्वदेशमै संघर्ष गर्ने कि विदेशको सुनौलो सपना पछ्याउने? यस्तै प्रश्नहरू दिनरात मनमा उठ्छन्। कतिपय साथीहरू विदेशमा जीवनलाई सहज बनाएको देख्दा आफू पनि विदेश जाने कि भन्ने सोच पनि आउछ, तर सँगसँगै यहाँको माया, आफन्तको साथ र देशले अलमल पार्छ।
नेपालमा बस्दा हरेक युवा आफूले गरेका संघर्षको प्रतिफल पाउने कुरामा धेरै आशावादी रहेको देखेको छैन । हरेक दिन, हरेक कदममा कति चुनौती छन्। एउटा राम्रो जागिरको खोजी, स्थिर भविष्यको सपना, र आत्मसम्मानपूर्ण जीवनको चाहना। तर हरेक युवा शिक्षा र सीप भएर पनि यहाँ अवसरको अभावमा बसिरहेका छन् । सरकारी जागिरको लागि लाखौंको भिड छ, निजी क्षेत्रमा तलब न्यून छ, र आफ्नो व्यवसाय गर्न चाहँदा नीति, बजेट, र सहजीकरणको कमी महसुस हुन्छ।
यसैबीच, अर्को पिडा थपिन्छ जब हामीले सुन्छौं कि सरकारी जागिरे, अझ भनौं, सचिवस्तरका मानिसहरू पनि विदेश जान बाध्य भएका छन्। उनीहरू जसले यो देशको शासन र व्यवस्थापन चलाउनुपर्ने हो, उनीहरू नै विदेशको बाटो समातेका छन्। प्रहरी, बैंकर, शिक्षक, अनि गाउँ बिकास गर्छु भनेर जनताबाट निर्वाचित भएका वडा अध्यक्ष समेत विदेश गएको समाचारले मनमा ठूलो निराशा पैदा गर्छ। उनीहरू जसले हामीलाई यहाँ रहन र केही निर्माण गर्न प्रेरणा दिनुपर्थ्यो, ती आफैं आर्थिक संकटका कारण विदेश जानु पर्ने अवस्था आउनुले हामीजस्ता युवाहरूलाई झनै असहज र असन्तुलित बनाइरहेको छ।
अर्कोतिर, विदेशको आकर्षण झन् मजबुत छ। विदेश जानु भनेको दिनको आठ-दस घण्टा काम गरेर महिनामा लाखौं कमाउनु हो भन्ने सोचले धेरैलाई लोभ्याउँछ। मैले पनि कतिपय साथीहरूलाई विदेश गएर राम्रो कमाइ गरेको देखेको छु। विदेश जाने सपना त यो छ कि त्यहाँ पुगेपछि हरेक समस्या हल हुन्छ। तर यो सपनाभित्र कति पीडा लुकेको छ, त्यो जान्न हामीले विदेशमा रहेका आफ्ना साथीहरूलाई बुझ्नुपर्छ।
विदेश पुगेपछि त्यहाँको कामको तनाव, छुट्टीमा पनि एक्लोपन, र आफ्नो संस्कृति, भाषा र परिवारको अभावले कस्तो जीवन बन्छ भनेर सायद यहाँ बस्नेहरूले महसुस गर्दैनन्। मलाई पनि कतिपयले भनेका छन्, “विदेशमा त पैसा मात्र हो, मनले खुशी छैन।” पैसा धेरै कमाएर फर्किने सपना त हुन्छ, तर त्यो पैसाले आफ्नो जीवनलाई साँचो अर्थमा खुशी बनाउँछ कि बनाउँदैन भन्ने प्रश्न मनमा आइरहन्छ।
विदेश जानु नै समाधान हो त? स्वदेशमा केहि गर्न सकिँदैन भन्ने धारणा साँचो हो त? यो प्रश्नहरू सधैं सोच्नुपर्ने हुन्छ। नेपालमा सम्भावनाहरू नभएका भने होइनन्। यहाँ कृषि, पर्यटन, सूचना प्रविधि, र साना उद्योगहरूको विकासमा धेरै सम्भावना छ। तर, समस्या चाहिँ हामीलाई सुरुमा आवश्यक स्रोत र सुविधाहरू उपलब्ध गराइँदैनन्। सरकारको ठोस नीति, आर्थिक सहयोग, र सहजीकरण भएमा नेपालमै केही गरौँ भन्ने सोच भएका युवाहरूले धेरै प्रगति गर्न सक्थे।
आफ्नै गाउँमा कृषि व्यवसाय सुरु गर्न सकिन्छ, यहाँको प्राकृतिक सम्पदालाई पर्यटनमा बदल्न सकिन्छ, वा प्रविधिको प्रयोग गरेर नयाँ व्यवसाय सुरु गर्न सकिन्छ होला तर यसको लागि सरकारको सहयोग र ठोस नीति चाहिन्छ। हाम्रो देशका थुप्रै युवाले स्वरोजगार र साना उद्योगहरूको माध्यमबाट केही सफलता प्राप्त गरिरहेका छन्। स्वदेशमा सम्भावनाहरू खोज्दै र मेहनत गर्दै युवाहरूले केही गर्ने मनासिब अवसर पाए भने यहाँ पनि सफल हुन सकिन्छ।
तर, यथार्थमा म जस्ता धेरै युवा यो द्वन्द्वमा छन् कि विदेश गएर आर्थिक समृद्धि खोज्ने कि स्वदेशमै संघर्ष गरेर केही बनाउन खोज्ने। विदेशमा पैसा छ, यहाँ परिवार र भावनात्मक माया। विदेशमा व्यावसायिक अवसर छ, तर आफ्नोपन छैन। यही कुराले गर्दा म जस्तै धेरै युवाहरू अलमलमा छन्।
आफ्नो देशको माया धेरै छ। हरेक बिहान उठ्दा यो देशको हावा, माटो, र आफ्ना मान्छेहरूको माया महसुस हुन्छ। तर, जब आर्थिक समस्याहरूले घेर्छ, अवसरको अभावले थिच्छ, विदेश जाने सोच बलियो बन्छ। सुन्छु, “यहाँ नै केही गर, विदेश नजाऊ।” तर, लाग्छ यहाँ त केही गर्न सजिलो छैन। संघर्ष बिना केही सम्भव छैन, तर संघर्ष गर्दा पनि कहिल्यै सफलता नै निश्चित छैन ।
हरेक युवा आफ्ना सपनाहरू पूरा गर्न चाहन्छन्। तर, ती सपना नेपालमै पूरा हुन्छन् कि विदेशमा जानु पर्छ भन्ने प्रश्नमा म जस्तै धेरै अलमलमा छन्। स्वदेशमा पनि सम्भावना छ, तर स्रोत, सुविधा, र सहजीकरणको कमी छ। विदेशमा पैसा छ, तर त्यहाँको जीवनले स्वदेशको माया र खुशी प्रदान गर्दैन।
कुन निर्णय सही हो भन्ने मैले अहिलेसम्म सोच्न सकेको छैन। तर, म जस्तै धेरै युवाहरूले यो निर्णय लिने क्रममा आफ्नो भविष्य खोजिरहेका छन्।
तर यो सबै भावुक कुरा मात्र होइन। हामीलाई वास्तविक समाधान चाहिएको छ। हामीलाई चाहिएको छ एउटा यस्तो वातावरण जहाँ हामी आफ्नो सीप र ज्ञानको प्रयोग गर्न सकौं। हामीलाई चाहिएको छ एउटा यस्तो प्रणाली जसले हाम्रो मेहनतको कदर गरोस्। हामीलाई चाहिएको छ एउटा यस्तो समाज जसले हामीलाई अगाडि बढ्न प्रोत्साहन गरोस्।