काठमाडौ १५ वैशाख ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगर पालिकाको मेयरमा रेणु दाहाललाई जिताउन कांग्रेसको को कमिटमेन्ट भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा नेता पौडेलले यस्तो बताएका हुन् । राजनीतिमा दुई कदम अगाडि जानका लागि एक कदम पछाडि फर्कनुपर्ने बताएका उनले भरतपुरका साथीहरुको मर्म, चोट अनि भावनात्मक आवेगलाई आफुले बुझेको बताएका छन् ।
‘भावना र यथार्थ बेग्लाबेग्लै कुरा हुन् । यतिबेला चितवनका साथीहरुले राजनीतिक दूरदर्शिता देखाउनुपर्छ । राजनीतिमा दुई कदम अगाडि जानका लागि एक कदम पछाडि फर्कनुपर्छ । प्रचण्डकी छोरीलाई जिताउने कांग्रेसको कमिटमेन्ट हो । त्यो हामीले पूरा गर्नैपर्छ । यसबाट दायाँबायाँ गर्न मिल्दैन ।’ उनले भनेका छन् ।
केही ठाउँमा हामीले सहयोग गर्ने हो, धेरै ठाउँमा अरुले हामीलाई सहयोग गर्छन् । अरुको सहयोग सित्तैँमा पाइन्छ भन्ने नसोच्न भन्दै नेता पौडेलले भनेका छन्, ‘गठबन्धन भनेकै कहीँ सहयोग गर्ने हो, कहीँ सहयोग लिने हो ।’
भावनामा बगेर पार्टीलाई दुर्घटना हुन नहुनेमा जोड दिएका उनले गठबन्धन स्वरुप नै नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने बताएका छन् ।