काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँगको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारी राजीनामा दिने मूडमा रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले मङ्गलबार भएको छलफलमा उक्त जानकारी गराएका छन् ।
नागरिकता विधेयक विषयमा राष्ट्रपति तानिने भएपछि राजीनामा दिने मूड बनाएको हुनसक्ने बताइएको छ । प्रधाानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीसँगको छलफलमा उक्त विषय साझा गरेका छन् ।
सङ्घीय संसदको दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी सुझावसहित फर्काएकी थिइन् ।
प्रतिनिधि सभाले उक्त विधेयक पुनः पारित गरेपछि हाल राष्ट्रिय सभामा पुगेको छ । राष्ट्रिय सभाबाट पारित भई दोस्रो पटक राष्ट्रपति कार्यालयमा पुगेपछि उक्त विधेयक प्रमाणीकरणको विकल्प रहने छैन् । त्यस अगाडि राष्ट्रपतिले राजीनामा गर्ने मूड बनाएको हुनसक्ने आँकलन गरिएको छ ।
राष्ट्रपति भण्डारीले बुधबार मात्रै आफ्नो सुरक्षामा खटिएका सुरक्षा अधिकृतहरुको बैठक गरेकी छन् । जसमा पूर्व सुरक्षा अधिकारीहरु समेत सहभागी भएका छन् । स्रोतका अनुसार राष्ट्रपतिले सुरक्षाकर्मीलाई धन्यवाद दिएकी हुन् । तर राष्ट्रपति कार्यालयले उक्त विषयमा हालसम्म कुनै प्रकारको टिप्पणी गरेको छैन् ।