काठमाडौं । नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आज पदयात्रा (वाकथन) गरेको छ । बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो । पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेललगायत शीर्ष नेताको सहभागिता थियो ।
पदयात्राको नेतृत्व गरेका अध्यक्ष ओलीले सम्बोधनका क्रममा भने ‘देशलाई गठबन्धनले ओरालोतिर लगिराखेको छ । यस ओरालो गतिलाई रोकेर देशलाई अगाडि लैजाने, माथि चढाउने, लोकतन्त्रको अभ्यासका हिसाबले, संविधान कार्यान्वयनका हिसाबले, शान्ति सुरक्षाका हिसाबले, भ्रष्टाचार नियन्त्रणका हिसाबले सशक्त ढंगले अगाडि बढ्नेछौँ ।’
देश संविधानसम्मत चल्नुपर्ने उल्लेख गर्दै उनले अगाडि भने, ‘यतिबेला देशलाई हार्न दिन हुँदैन, जनतालाई हार्न दिन हुँदैन । संविधानलाई हार्न दिन हुँदैन । संविधान दिवस र राष्ट्रियता दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाइरहेका छौँ ।’ त्यस्तै संविधान दिवसलाई जनताको दिवसका रूपमा र राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने उनको भनाइ थियो ।
पदयात्रामा नेता तथा कार्यकर्ताले नेपाली झण्डा लिएका थिए । संविधानसभाबाट पाएको संविधानको रक्षा गर्नका लागि पदयात्रा गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । पदयात्रामा एमाले नेता तथा कार्यकर्ता, पार्टीका जनवर्गीय सङ्गठन र एमालेप्रति शुभेच्छा राख्ने जनसमुदायको सहभागिता थियो ।