काठमाण्डौ । मन्त्री बनेको भोलीपल्टै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजिनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भएको छ ।
हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आइतवार विहान राजीनामा बुझाएका हुन् । राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेको देउवाका स्वकीय सचिव भानु देउवाले पुष्टि गरेका छन्। राजीनामा पछि हमालले आफूले कसैको दबाब र आग्रहमा नभइ स्वविवेकले राजीनामा दिएको प्रतिकृया दिएका छन् ।
उनको नियुक्ति लगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ‘कोटा’ मा मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भइरहेको थियो । उनले अस्ति शुक्रवार मात्रै पदभार ग्रहण गरेका थिए । विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका हुन् ।
‘मेरो नियुक्तिलाई लिएर धेरै विवाद आएकाले मैले स्वविवेकले राजीनामा दिएको हुँ ‘उनले भने कसैको दबाब र आग्रहमा राजीनामा दिएको होइन ।’ राजीनामा पत्रमा उनले नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन ।



