विराटनगर / प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातिय र धार्मिक सद्भाव भड्काएर संघिय लोकतान्त्रिक गणतन्त्र माथि नै आक्रमण गर्ने प्रयास भईरहेकोले यस तर्फसजग भईदिन आग्रह गरेका छन् ।
सोमबार विराटनगरमा आयोजना गरिएको समाजवादी मोर्चा नेपालको कोशी प्रदेश स्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यसपटकको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्न र सामाजिक न्याय प्रदान गर्ने दिशामा अघि बढिरहेको बताए ।
सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेको भन्दै त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको बताए । उनले सरकार कति दिन टिक्छ भन्ने मलाई चिन्ता नभएको र भ्रष्टाचारविरुद्धको अभियान अन्तिमसम्म पुर्याउने प्रतिज्ञा लिएको बताए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका भ्रमणमा शान्ति प्रक्रिया टुङ्ग्याउन अन्तर्रााट्र्रय समुदाय संग सहयोग मागिने बताउदै चीन भ्रमणका बेला कृषि तथा जलविद्युत निर्यातका लागि पहल गर्ने आफ्नो सोच रहेको सुनाए ।
उक्त संदेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवम नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मिसन समाजवादको सन्देश दिन समाजवादी मोर्चा गठन गरिएको जानकारी दिए । उनले जनतालाई अनुभूति हुने गरी सरकारले आफ्नो कार्य अघि बढाउनुपर्ने बताए । उनले सरकारले गरेका अन्तराष्टि जुन सुकै सम्झौता पनि देश र मुलुकको पक्षमा भए सहमत गर्ने जानकारी दिए ।
सो कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनैतिक स्थिरता, सुशासन तथा विकास र समृद्धि जनताको चाहना भएकाले सबैले मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । उनले संघिय गणतन्त्र आएको १६ बर्षमा १३ पटक सरकार बद्लियो तर संघिय गणतन्त्र संस्थागत हुन नसकेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले मुलुक अत्यन्त जटिल अवस्थामा रहेकाले सबै मिलेर संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताए । उनले सरकारले जनताको बारेका काम गर्नु पर्ने भन्दै सरकारलाई आफ्नो समर्थन रहेको बताए ।