मकवानपुर: बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय स्थापनाको आज सय दिन पूरा भएको छ । बुधवार मन्त्रालयले पत्रकार समेलन गर्दै एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ ।
मन्त्रालयले २१ बुँढे प्रगति विवरण सार्वजनिक गर्दै आगामी दिनको लागी ३ वटा महत्त्वपूर्ण कार्य योजना सार्वजनिक गरेपनि महत्त्वपूर्ण उपलब्धि भाडाको घरबाट सरकारी भवनमा सर्ने बाहेक अरू खासै केही देखिदैन ।
भाडाको घरमा बस्दा राज्यलाई आर्थिक भार बढ्ने भन्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले विभागीय जिम्मेवारी पाएको दिनमा भाडाको घरमा मन्त्रालय सञ्चालन नगर्ने घोषणा नै गरेका थिए। सोही अनुरूप जीर्ण अवस्थामा रहेको सरकारी भवनलाई मर्मतसम्भार गरेर मन्त्रालय सारिएको छ ।
मन्त्रालयका सचिव गोविन्द रिजालले सय दिनको उपलब्धि सुनाउदै प्रदेश औद्योगिक व्यवसाय ऐन तथा प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन’ को समयानुकूल संशोधन गर्न आवश्यक प्रक्रिया सुरु गरिएको र प्रदेश स्तरीय संयुक्त बजार अनुगमन निर्देशिका २०७५ लाई विस्थापन गरी “प्रदेश स्तरीय संयुक्त बजार व्यवस्थापन अनुगमन निर्देशिका, २०८०० मन्त्रिपरिषदबाट स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिए ।
सचिव रिजालका अनुसार निर्माण सम्पन्न भई सञ्चालनको चरणमा रहेका कोशेली घरहरुलाई स्थानीय तहहरु तथा सरोकारवालाहरुलाई हस्तान्तरण गरी व्यवस्थित रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न “भौतिक संरचना हस्तान्तरण सम्बन्धी कार्यविधि तयार गरी सहमतिको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको र उपभोक्ता हक हित संरक्षण सम्बन्धी कानुनको मस्यौदा तयार गर्ने प्रक्रिया सुरु गरिएको छ ।
उनले काठमाडौँ उपत्यका लगायतका सम्भाव्य स्थानहरूमा हस्तकला ग्राम निर्माण गरी काष्ठ कला प्रस्तर कला जस्ता मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यका साथ ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०० प्रदेश सभामा दर्ता गरिएको मन्त्रालयले प्रगति विवरणमा उल्लेख गरेको छ ।
चालु आर्थिक वर्ष २०८०।०८१ मा १३ बटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरूबाट हालसम्म करिब २३४० औद्योगिक तथा व्यापारिक फर्महरू दर्ता भएको र प्रदेशको उद्योग तथा लगानी प्रवर्द्धन समितिको बैठकले अनुसूची-१ बमोजिमको सहमति लिनुपर्ने ९ वटा उद्योगहरुलाई सहमति दिइएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै महत्त्वपूर्ण योजनामा मन्त्रालयले प्रदेश औद्योगिक नीति, बाणिज्य नीति, खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी नीति, मानव संशाधन विकास नीति, भूमि व्यवस्थापन नीति, गुठी व्यवस्थापन तथा संरक्षण लगायतका नीतिह तर्जुमा गरिनेछ साथै प्रदेश लगानी बोर्ड स्थापना, भूमि बैंक स्थापना लगायतका कार्यहरु अगाडी बढाउन कानून निर्माण गरिने जनाएको छ ।
भाडाको घरबाट सरकारी भवनमा सर्यो मन्त्रालय
मन्त्रालय भाडाको घरबाट सरकारी भवनमा सरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको तत्कालीन जिल्ला विकास समितिको भवनमा उक्त मन्त्रालय सरेको हो। उक्त मन्त्रालय यसअघि हेटौँडा-४, हुप्राचौरमा रहेको भाडाको घरबाट सञ्चालनमा थियो। उक्त घरको भाडा मासिक एक लाख १० हजार रुपैयाँ थियो।