भोजपुर / भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जिल्ला सदरमुकाममा आयोजित जनभेटघाट कार्यक्रममा भोजपुरको टक्सारमा बनेको करुवा उपहार दिइन् ।
उपप्रमुख शेर्पाले करिब चार महिना लगाएर बनेको छ किलोको करुवा पार्टी अध्यक्ष ओलीलाई दिएकी हुन् । करुवा लिँदै खुसी देखिएका अध्यक्ष ओली आजै बिहानै भोजपुरको धातु व्यवसायका लागि चर्चित मानिएको ऐतिहासिक टक्सार बजार पुगे । उनले धातु व्यवसाय सञ्चालनमा देखिएको समस्याका बारेमा समेत जिज्ञासा राखेका थिए ।
टक्सारबाट धातु व्यवसायी विस्थापित हुने क्रम बढिरहेको अवस्थामा यहाँ केही मात्र व्यवसायीको अहिले बसोबास रहँदै आएको छ । उनले टक्सार बजारका पुराना धातु व्यवसायी बुद्धराज शाक्यसँग भेटेर व्यवसायका विषयमा कुरा गरे । व्यवसायी शाक्यले कांसका थोत्रा समान पगालेर विभिन्न नयाँ समान बनाउँछन् । करुवा, कलश, कचौरा, गाग्री लगायतका सामान आफूले बनाउँदै आएको उनले बताए ।
“कालिगढको अभावसँगै कच्चा पदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन । स्थानीय स्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चा पदार्थ र कोइला ढुवानी गर्दा महँगो समेत हुने भएकाले पनि टक्सारबाट कालिगढ विस्थापन हुने क्रम बढेको छ”, स्थानीय विमल शाक्यले भने ।
मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्राका क्रममा भोजपुर आएका ओलीले ऐतिहासिक टक्सार बजारका विषयमा चासो राखेका हुन् ।
टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, कांसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचौरा, डबका नेपाल भित्र मात्र नभएर विदेशमा समेत प्रसिद्ध रहेका छन् । यतिबेला ती बनाउने कालिगढ विस्थापित भएका छन् । ऐतिहासिक कलामा पोख्त कालिगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको छ ।