मकवानपुर: नेपाली काँग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आएका अर्थमन्त्री डा. प्रकाश शरण महतले दुई वटा ध्यानाकर्षण पत्र लिएर फर्किएका छन् । मङ्गलवार मकवानपुर उद्योग वाणिज्य सङ्घ र राक्सिराङ गाउँपालिकाले विभिन्न माग राख्दै मन्त्री महतलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले कोभिड महामारी, सार्वजनिक ऋणको आकार बढ्दै जानु, औद्योगिकीकरण र लगानीको वातावरणको अभाव कायम रहनु, वैदेशिक आयात व्यापारको वृद्धि हुँदै जानु, सरकार परिवर्तनसँगै सार्वजनिक नीतिहरूको परिवर्तन भइरहनुले आम नागरिक/उद्योगी/व्यवसायीहरूको मनोबल उच्च नहुने बताउँदै देशको आर्थिक सङ्कट समाधानका लागि सरकारले तत्काल कदम चल्नुपर्ने भन्दै विभिन्न मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।
वर्तमान अवस्थामा लगानी निरुत्साहित भएकोले सरकारले एक अङ्कको ब्याजदर कायम राख्ने राष्ट्रिय नीतिको तर्जुमा गर्नुपर्ने उवासंघले बुझाएको पत्रमा उल्लेख छ । क्रसर व्यवसायहरू विगत केही वर्षदेखि नवीकरण नभएकोले यथाशीघ्र नवीकरण गरी सञ्चालन कार्यमा सहजीकरण गर्ने समेत उवासंघले माग गरेको छ । उद्योगले लिजमा लिएको सरकारी जग्गामा आफूले बनाउने संरचनाहरूमा वित्तीय सुविधा दिन सम्बन्धित बैङ्कहरूलाई निर्देशन गर्न केन्द्रीय बैङ्क तथा उद्योग मन्त्रालयसँग पहल गर्ने काम तुरुन्त प्रारम्भ हुनुपर्ने सङ्घको माग छ ।
पत्र बुझेर अर्थमन्त्री डा.महतले निर्माण र उद्योग व्यवसायीहरूको समस्याको समाधानमा सरकार साथमा रहने प्रतिबद्धता व्यक्त गरे । डा.महतले व्यवसायीहरू चर्को ब्याजदर, निर्माण सकेको अवस्थामा पनि व्यवसायीले भुक्तानी नपाउने जुन समस्या छ त्यसलाई निराकरण गर्न सरकार तयार रहेको बताए ।
वित्त क्षेत्रमा अनुशासन लागु हुँदै र मौद्रिक नीति लागु भइसकेको अब आर्थिक वृद्धि हुनुका साथै उद्योग व्यवसाय पनि बढ्ने विश्वास दिलाए । उनले हेटौँडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने र हेटौँडा सिमेन्ट उद्योगको हकमा भने सरकारले छिट्टै नै निचोड निकालेर अगाडी बढाइने बताए ।
अहिले बहुवर्षिय योजनाले समस्या निस्केकोले गर्दा अनियमित ढङ्गले ठेक्का लगाउने प्रथाको अन्त्य गरिनुपर्ने अर्थमन्त्री महतले बताए । पुरानो दायित्व बढ्दो क्रममा छ, अब जति आम्दानी अनुमान छ सोही अनुरूप बजेट बनाउनेमा महतको जोड थियो ।
उनले क्रसर उद्योग तर्फ नवीकरण र कार्यक्षेत्रको विषयमा तत्काल छलफल गरिनुका साथै मकवानपुरमा हुने मेला महोत्सवमा स्थानीय सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायसँग सहकार्य गरी काम गर्न आग्रह गरे ।
गाँजा वैधानिक गर्नका लागि ध्यानाकर्षण
मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाँजा वैधानिक गर्नका लागि अर्थ मन्त्री प्रकाश शरण महत समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। जिल्ला भेलालाई सम्बोधन गर्न हेटौँडा आइपुगेका मन्त्री महतलाई गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र राक्सिराङ गाउँपालिका काँग्रेस सभापति वीरेन्द्र जिम्बाले गाँजाको वैधानिकता सम्बन्धी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
प्राकृतिक वरदान गाँजा उपयोग बिक्री उत्पादन गर्न राज्यले वैधानिक देऊ की विकल्प देऊ भन्दै आफूहरूले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराइएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । २०२८ सालसम्म इजाजत पत्र लिएर नै गाँजा तथा अफिम खेती गरिदैं आएको र २०३३ सालबाट गैर कानुनी खेतीको घोषणा गरिएको भन्दै पुनः गाँजा खेतीलाई वैधानिकता दिन आग्रह गरिएको अध्यक्ष मल्लको भनाइ छ ।
भौगोलिक विकटता र सिँचाइको सुविधा नभएको राक्सिराङमा गाँजा खेतीको सम्भाव्यता रहेको र यसलाई राज्यले वैधानिकता दिए राक्सिराङका नागरिकलाई आयआर्जनको बाटो खुल्ने बताइएको छ । यहाँका किसानहरूले उल्लेख्य रूपमा गाँजा तथा अफिम खेती गर्दै आए पनि प्रहरीले पटक÷पटक फडानी गर्दै आएको छ ।
त्यस्तै पत्र बुझेर मन्त्री महतले गाँजा खेतीको सम्भावना बारेमा सरकारले अध्ययन गरेर निर्णय लिने बताए । सरकारले कमिटी बनाएको र अब चाडै रिपोर्ट आउने उनको भनाई थियो ।
“पहिला पहिला विदेशी मित्र राष्ट्रहरूले गाँजा खेती गर्नुभएन, वैधानिक गर्यो भने साहायता नै रोकिदिन्छौ भन्ने किसिमको कुरा गरे, त्यो बेला हामीले कानुन नै ल्याएर रोकिदियौ तर अहिले उनीहरूले आफै गरिरहेका छन्, अरबौँ अर्ब त्यो पनि डलरमा कमाउँछन्, उनले भने, त्यो हुनाले हाम्रो ठाउँमा अथाह सम्भावना छ, यसलाई कुन मोडेलमा विकास गर्ने र नेपालेले पनि फाइदा उठाउने भन्ने बारेमा सरकार गम्भीर भएको छ ।”
गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता: अर्थमन्त्री डा. प्रकाश शरण महत
कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको बताएका छन्। नेपाली काँग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनलाई मङ्गलवार सम्बोधन गर्दै उनले भने, ‘कतिपय साथीहरूलाई गठबन्धन किन गर्नुपर्यो भन्ने लागेको होला। यी कुरा पार्टीको कोणबाट हेर्दा ठिकैजस्तो लाग्छ। तर, कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन।’
मिश्रित निर्वाचन प्रणालीका कारण एउटा दलको बहुमत आउन कठिन रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले एकल बहुमतका लागि ठुलै जनप्रवाह हासिल गर्नुपर्ने बताए। बहुमत ल्याएर काँग्रेसको एकल सरकार निर्माणका लागि एकता, सदभाव र जिम्मेवारीप्रति उच्च समर्पण भाव आवश्यक रहेको उनको भनाइ छ। देशमा केही हुँदैन, सबै सकिन लाग्यो, अब बिदेसिनुपर्छ भनेर एक खालको निराशापूर्ण अभिव्यक्ति दिनहुँ सामाजिक सञ्जालमा देखिएको बताउँदै उनले यो एउटा स्वार्थ समूहको काम भएको बताएका छन् । गरे नेपालमै धेरै हुन्छ भन्ने प्रमाणित गर्नु सरकारको दायित्व भएको र केही राम्रो गरेर निराशाको बहस अन्त्य गर्नेमा सरकार दत्तचित्त भएर लागेको उनले बताए ।
अर्थमन्त्री महतले युवाहरूलाई सामाजिक सञ्जालमा देखिने अर्काको देशको चाकाचौँधबाट प्रभावित नहुन आग्रह गर्दै आफ्नै देशमा सम्भावना खोज्न आग्रह गरे। सरकारको अथक प्रयासबाट देशको बिग्रिएको अर्थतन्त्रले गति लिन थालेको उनले दाबी गरे। मन्त्री महतले पछिल्लो समय पर्यटन आगमनमा वृद्धि हुनु, विदेशी मुद्राको सञ्चिति बढ्नु, विप्रेषण प्रवाह बढ्नु, घर–जग्गाको कारोबार बढ्नु र सेयर कारोबार नियमित बढ्नुले अर्थतन्त्र सकारात्मक भएको दाबी गरे।
यस्तै, काँग्रेसका प्रवक्तासमेत रहेका मन्त्री महतले समस्या परेका वेला देशलाई कांंग्रेसले नै निकास दिने काम गरेको बताउँदै वर्तमान सरकारले समस्याको चाङलाई पन्छाउँदै देशलाई सकारात्मक बाटोमा डोर्याउने काम गरेको दाबी गरे।
सरकारले गरेका राम्रा काममा एकजुट भएर सहयोग गर्न उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह समेत गरे । काँग्रेस एक ढिक्का भएर उभिए देशमा देखिएको सबै समस्याको समाधान गर्न सकिने दाबी पनि गर्दै काँग्रेस बलियो भए मात्रै देश बलियो हुने मन्त्री महतले बताए ।