मकवानपुर: बागमती प्रदेश सरकारले १३ जिल्लामा विरोध स्थल निर्माण गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ जिल्लामा एक/एक वटा सार्वजनिक नागरिक प्रदर्शन स्थल निर्माणका लागि बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार भौतिक संरचनाको संरचनागत सुधारको खर्च अख्तियार प्रदान गर्ने निर्णय गर्दै प्रदेशका १३ जिल्लामा नागरिकहरूको प्रदर्शन स्थल निर्माणको लागि २६ लाख रुपैयाँ बजेट अख्तियारी दिने निर्णय गरेको हो । जस अनुसार प्रदेशका १३ जिल्लामा एक÷एक वटा नागरिक प्रदर्शन स्थल निर्माणका लागि २ लाख रुपैयाँका दरले खर्च गरिने उनले बताए ।
प्रदेश सरकारले लोकतन्त्रलाई थप सुदृढ बनाउने उद्देश्यले नागरिकहरूको विरोध गर्ने अधिकारलाई व्यवस्थित गर्न प्रदर्शनस्थल निर्माण गर्ने निर्णय अनुसार बजेट विनियोजन गरेको उनले बताए । प्रदेशको विशेष गरी काठमाडौँ उपत्यकामा नागरिकहरूको विरोधका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुने, सहरी क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोडलाई प्रेरित तथा उद्धत गर्ने देखिएको र त्यसको व्यवस्थापन गर्ने पहल गरेको उनको भनाई छ ।