काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन् । बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताए । उनले नेपाली कांग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद् अवरुद्ध गरिरहेको र एउटा पात्रका विरुद्ध खनिएको भन्दै आपत्ति जनाए । उनले कांग्रेस जस्तो पार्टी रवि लामिछानेको विरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गरे ।
उनले लामिछाने राजनीतिमा आएको एक वर्ष भएको बताए । उनले कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र प्रस्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अघ्र्यल्याईं गरेको आरोप लगाए । संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसदमा बोल्न नहुने उनले बताए ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताए । उनले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो भन्दै प्रश्न समेत गरे । नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने उनको भनाइ थियो ।
सांसद डा.शुनिल शर्मा र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्दा चुइँक्क नबोलेको भन्दै अहिले आएर रवैया देखाउनु अशोभनीय रहेको समेत उनले बताए ।