काठमाडौं | नेपाली राजनीतिमा एक अप्रत्याशित मोड आएको छ। सोमबार मध्यरातमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सत्ता साझेदारीको सहमति भएको छ। यो कदमले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने देखिन्छ।
ललितपुरस्थित एक होटलमा दुई दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई देउवा र ओलीले मध्यरातमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार, सुरुको डेढ वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ।
नयाँ गठबन्धनमा मन्त्रालयहरूको बाँडफाँड यस प्रकार हुनेछ: एमालेले प्रधानमन्त्री र अर्थमन्त्री सहित ९ वटा मन्त्रालय पाउनेछ, जबकि कांग्रेसले गृहमन्त्री सहित १० वटा मन्त्रालय लिनेछ। प्रदेश सरकारहरूमा पनि शक्ति बाँडफाँड गरिएको छ, जसमा एमालेले कोशी, लुम्बिनी र कर्णालीमा नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकार बनाउनेछ। मधेश प्रदेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ।
यो गठबन्धनले संविधान संशोधनको प्रस्ताव पनि अघि सारेको छ। दुवै दलले संविधान संशोधन सुझाव समिति बनाएर अगाडि बढ्ने सहमति गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसँग मध्यरातमै परामर्श गरिएको थियो। नयाँ गठबन्धनले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्ने रणनीति बनाएको छ।
मंगलबार बिहानै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई नयाँ सरकार गठनबारे जानकारी गराउने भएका छन्। नयाँ गठबन्धनले मंगलबार नै राष्ट्रपति समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित सरकार गठनको दाबी पेश गर्ने तयारी गरेको छ।