Friday, December 6, 2024
राजनीतिउपसभामुख इन्दिरा रानाद्वारा अमेरिकी दूतावासलाई लेखिएको पत्रले विवाद

उपसभामुख इन्दिरा रानाद्वारा अमेरिकी दूतावासलाई लेखिएको पत्रले विवाद

काठमाडौं | उपसभामुख इन्दिरा राना विवादमा तानिएकी छिन्। उनले आफ्नो लेटरहेडमा अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएपछि यो विवाद सुरु भएको हो। उक्त पत्रमा उनले आफू र अन्य पाँच जना पुरुषको भिसा अन्तर्वार्ताको समय मिलाइदिन अनुरोध गरेकी थिइन्।

पत्रमा उल्लेखित व्यक्तिहरूको भूमिका स्पष्ट नभएको र महिलासँग सम्बन्धित कार्यक्रममा पुरुषहरूलाई मात्र किन छानिएको भन्ने प्रश्न उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रानाले यो पत्र १४ फागुन २०७९ मा लेखेकी थिइन्।

सभामुख देवराज घिमिरेले यस विषयलाई गम्भीर मानेका छन्। उता उपसभामुख रानाले भने एक वर्षपछि यो विषय किन उठाइएको भन्ने प्रश्न गरेकी छिन्।

रास्वपाका नेताहरूले यस विषयमा पार्टीभित्र छलफल भएको बताएका छन्। उपसभामुख रानाले पार्टीलाई रास्वपा झापाका नेता उपेन्द्र गौतमको अनुरोधमा पत्र लेखेको बताएकी थिइन्।

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले यस विषयमा उजुरी आएको र सभामुख तथा संसद्का महासचिवसँग छलफल गरेको जानकारी दिएका छन्।

उपसभामुख रानाले भने आफूले कुनै गलत नियतले पत्र नलेखेको दाबी गरेकी छिन्। उनका अनुसार नेपालीहरूले पनि केही सिक्लान् भन्ने सोचेर मात्र अन्य व्यक्तिहरूको नाम समावेश गरेकी थिइन्।

यो विवादले उपसभामुखको पदीय मर्यादा र जिम्मेवारीमाथि प्रश्न उठाएको छ। साथै, संवैधानिक निकायका पदाधिकारीहरूको आचरण र कार्यशैलीबारे पनि बहस सुरु भएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img