चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीको विषयमा धेरै ठूलो विवाद नभएको भन्दै राष्ट्रिय सहमतिमा निकाश निस्कने बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले अमेरिकासँग कुनै एलर्जी नभएको भन्दै सबै राजनितिक दल, नागरिक समाजसँगको छलफलपछि सहमतिमा एमसीसीको समस्या हल हुने बताएका हुन् ।
उनले विकास निर्माणको लागि अनुदान आवश्यक रहेकोले फिर्ता जाओस् भन्ने चाहना नरहेको बताए । त्यस्तै उनले नेत्रविक्रम चन्द विप्लवसँग सहकार्यको लागि छलफल भइरहेको बताएका छन् ।
विप्लवसँग छलफल भइरहेको तर पार्टी एकता भइहाल्छ भन्ने अवस्थामा पुगी नसकेको उनले प्रष्ट पारे । सहकार्य गर्दै एकतातर्फ सोच्नुपर्ने मनस्थितिमा रहेपनि अहिले नै एकता भइहाल्ने ठाँउमा नपुगेको प्रचण्डले बताए ।