Sunday, March 16, 2025
राजनीतिप्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने कुरा..

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने कुरा..


 

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने प्रस्तावलाई पार्टीको बैठकमा राख्ने आश्वासन दिएका छन् । 

जबरालाई महाअभियोग लगाएर हटाउनुपर्ने मागसहित सोमबार नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र बुझ्दै नेम्वाङले बारको प्रस्तावलाई पार्टी अध्यक्ष र स्थायी कमिटी बैठकमा लैजाने आश्वासन दिएका हुन् । 

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोेजेको लगायतका आरोप लगाएर बार निरन्तर तीन साताभन्दा लामो समयदेखि आन्दोलित छ । तर, जबराले राजीनामा दिन छाँटकाँट नदेखिएपछि सभामुख अग्निप्रसाद सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई ज्ञापनपत्र बुझाएको हो । 
सोही क्रममा एमाले संसदीय दलका उपनेता नेम्वाङलाई ज्ञापनपत्र बुझाएर बारले जबरालाई महाअभियोग लगाउन माग गरेको हो । 

‘बारले उठाएका विषय गम्भीर छन् । जे भयो राम्रो भएन । यो ज्ञापनलाई अध्यक्ष र स्थायी कमिटीमा अविलम्ब आजै बुझाउँछु । पार्टीको ध्यानाकर्षण गराउने पहल मेरो रहन्छ’, नेम्वाङले भने ।  

बारको आन्दोलनबारे औपचारिक जानकारी पाएको भन्दै उनले  कानुन व्यवसायीको आन्दोलन मथ्थर बनाउन दंगा प्रहरी प्रयोग गरेमा दुःख व्यक्त गरे  । न्यायालयको विवाद भित्रै समाधान गर्नुपर्ने भए पनि बाहिर आइसकेकाले अब समाधानको बाटोमा लाग्नुपर्ने उनको नेम्वाङको भनाइ छ । 

‘बारले यस्तो गर्नुपर्ने स्थिति नआएको भए हुन्थ्यो । अदालत र बार छलफल गरेको भए राम्रो हुन्थ्यो । तर, बाहिर आइसक्नुभयो । यो राम्रो होइन । अहिले सर्वाेच्चबाट न्याय पाउन नसकिने अवस्था छ । हामीले नै बोलिराखेको कुरा आएको छ । संसदमा भएका घटनामा पनि हामीले न्याय पाउन सकेनौं’, उनले भने । 

नेम्वाङलाई ज्ञापनपत्र बुझाउने क्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले संविधानको व्यवस्थाअनुसार आफू बाहिरिने भनेकाले महाअभियोग लगाउनुपर्ने भएको बताए । 

‘उहाँले सडकबाट छोड्दैन संविधानबाट आएको संविधानबाटै जान्छु भनेकाले हामी आएका छौं । न्यायको सेवाग्राहीको आवाज लिएर आएका छौं’, श्रेष्ठले भने ‘राजनीतिक दलहरूबाट निकास चाडोभन्दा चाडो होस् ।’ 

एमालेको सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि मंगलबार बिहान ११ बजे बस्ने गरी सारिएको छ । 
 

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img