देशबागमती प्रदेशआज मुख्यमन्त्री लामा राजीनामा दिने, बानियाँ बन्ने नयाँ मुख्यमन्त्री

आज मुख्यमन्त्री लामा राजीनामा दिने, बानियाँ बन्ने नयाँ मुख्यमन्त्री

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन्। साउन चौध गते भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि दबाबमा परेका लामाले आइतबार बिहान हेटौँडामा आएर राजीनामा दिने निश्चित भएको हो।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए। छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार, तीन मन्त्रीलाई सपथ गराउने र लामा पक्षसँग सहमतिमा सरकार सञ्चालन गर्ने सहमति भएपछि लामा राजीनामा दिन तयार भएका हुन्।

लामाले यसअघि कांग्रेस प्रदेशसभाका प्रमुख सचेतक गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए। उनीहरूको सपथ बुधबार नै तय भए पनि सत्ता साझेदार नेकपा एमालेको असहमति र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिक बिरामी भएपछि रोकिएको थियो।

प्रदेश प्रमुख देवकोटा आइतबार हेटौँडा फर्किए राजीनामा बुझाइने वा उनी नफर्के पनि कार्यालयमा दर्ता गरिने चित्रकारले जानकारी दिए।

लामाको राजीनामापछि बागमतीको नयाँ मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ हुने निश्चित भएको छ। एक वर्षअघि कांग्रेस–एमालेबीच भएको सहमतिअनुसार बानियाँले अब करिब आठ महिना मात्रै सरकार सञ्चालन गर्नेछन्। त्यसपछि आगामी फागुनमा एमालेले सरकारको नेतृत्व लिने सहमति रहेको एमालेले स्पष्ट पारेको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img