खेल समाचारकप्तान साम्बा हेटौँडामा सम्मानित

कप्तान साम्बा हेटौँडामा सम्मानित

हेटौँडा | नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौंडामा विशेष सम्मान गरिएको छ। ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने नारासहित सञ्चारिका समूह मकवानपुरले शनिबार आयोजना गरेको कार्यक्रममा साम्बालाई पचास हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।

साम्बालाई सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङ, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरण जोशीले संयुक्त रूपमा सम्मान गरे।

सम्मान ग्रहण गर्दै साम्बाले देशलाई विश्वसामु चिनाउने लक्ष्यले अघि बढेको बताइन्। उनले महिलामैत्री खेलकुद वातावरण बनाउन राज्य र समाजको थप सहयोग आवश्यक रहेकोमा जोड दिइन्।

हाल न्युजिल्याण्डको एक क्लबसँग आबद्ध साम्बा अब अष्ट्रेलियाली लिग खेल्ने तयारीमा छिन्। यसअघि उनले फ्रान्स, भारत र इजरायलका क्लबसँग खेल्दै अन्तर्राष्ट्रिय अनुभव आर्जन गरेकी थिइन्। नेपाली महिला फुटबल इतिहासकै सफल खेलाडी मानिने साम्बाले राष्ट्रिय टोलीबाट हालसम्म त्रियालीस गोल गरिसकेकी छन्, जुन कीर्तिमान हो।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, एन्फाका केन्द्रीय सदस्य टीकाराम लामा, उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीसहित स्थानीय सरोकारवालाको उपस्थिति थियो।

हेटौँडाका उपप्रमुख बानियाँले नगरस्तरमै खेल पूर्वाधार विस्तार गर्ने योजना सुनाउँदै साम्बाजस्ता रोल मोडलले युवा पुस्तालाई फुटबलप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरे। प्रायोजक पुरण जोशीले साम्बाले अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदान देशकै गौरव भएको भन्दै आगामी दिनमा पनि यस्ता प्रतिभाको साथ र समर्थनमा रहने बताए।

सञ्चारिका समूहकी अध्यक्ष गुरुङले साम्बाको उपलब्धि सम्पूर्ण देशकै गौरव भएको उल्लेख गर्दै, महिला पत्रकारको तर्फबाट प्रेरणादायी पात्रलाई सम्मान गर्नु सामाजिक जिम्मेवारी भएको बताइन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img