काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार एन-प्याब्सनले ऐनको दफा ५ बमोजिम जारी गरिएका निर्देशनहरू पटकपटक पालना नगरेको तथा संस्थाका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको पाइएको छ।
यस विषयमा मन्त्रालयले गत असोज २३ गते सरोकारवालासँग छलफल गरी कानुन तथा यसअघि जारी निर्देशन पालना गर्न आग्रह गरेको थियो। तर, २०८२ मंसिर १२ गते जारी निर्देशनसमेत कार्यान्वयन नभएपछि निलम्बनको निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
निलम्बनसँगै एन-प्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गतिविधि सञ्चालन गर्न नपाउने मन्त्रालयले स्पष्ट पारेको छ। त्यस्ता गतिविधि गैरकानुनी मानिने र संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।



