काठमाडौं । आइतबार बसेको सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) लाई टुंगोमा लैजान ३ सदस्यीय कार्यदल गठन गरेको छ ।
गठबन्धनले कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि गठबन्धनको बैठक बसेको थियो । त्यसपछि सर्वदलीय बैठक डाकिएको थियो ।
सर्वदलीय बैठकमा भने एमसीसीका सन्दर्भमा कार्की र श्रेष्ठ आमनेसामने भएका थिए । कार्कीले एमसीसी पास गर्नुपर्ने भनेका थिए भने श्रेष्ठले त्यसको विरोध गर्दै संशोधन गर्नुपर्ने भनेका थिए ।