राष्ट्रियसभा निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहकार्य हुने भएको छ ।
राप्रपालाई सहकार्यको प्रस्ताव भने कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले पनि गरेको थियो । तर, राप्रपाले एमालेसँग सहकार्य गर्न चाहेको हो ।राप्रपाका एक पदाधिकारीले बताएअनुसार एमालेसँग सहकार्य गर्न हुने गरी गृहकार्य भइरहेको बताए ।राष्ट्रियसभा निर्वाचनमा जितको निर्णायक मतभार राप्रपासँग छ । राप्रपाको कूल मतभार १२० हो । प्रदेश संसदमा १ सांसद र स्थानीय तहमा चार जना जनप्रतिनिधि छन् । चार जनप्रतिनिधिको मतभार ७२ र एक सांसदको मतभार ४८ हो ।
अन्ततः निर्णायक मतभार बोकेको राप्रपाले एमालेसँग सहकार्य गर्ने भएको छ । मंगलबार राप्रपाले प्रदेश १ मा अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो । दुवै जनाले मनोनयन गरिसकेका छन् ।तर, राप्रपाले एक जना उम्मेदवारको मनोनयन भने फिर्ता गराउने भएको छ । विष्ट कि प्याकुरेल भन्ने निश्चित छैन ।
निर्वाचनमा आवश्यकताका आधारमा सहकार्य गर्ने जिम्मेवारी पाएका राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले एक सिट पाउने र त्यसमा कुन उम्मेदवारलाई अघि बढाउने भन्ने टुंगिन बाँकी रहेको बताए ।महिला सिट पाएको अवस्थामा राप्रपाबाट प्याकुरेल अघि बढ्नेछिन् । अन्य सिट पाउँदा भने विष्ट अघि बढ्ने भएका छन् । अल्पसंख्यक वा अपाङ्गता सिटबाट भने राप्रपाको उम्मेदवार छैन । त्यसले गर्दा राप्रपाले अन्य वा महिलामध्ये एक सिट पाउने देखिन्छ ।
एमालेका तीन राष्ट्रियसभा सदस्यको कार्यकाल २० फागुनमा सकिँदै छ । उनीहरू हुन्, अगमप्रसाद बान्तावा, परशुराम मेघी गुरुङ र नैनकला ओझा । उनीहरूको पदावधि सकिँदा रिक्त हुने सिटमा निर्वाचन १२ माघमा हुने भएको छ ।२०७४ फागुनमा चार बर्से कार्यकालका लागि उनीहरू राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए ।
झापा क्षेत्र नम्बर–३ बाट कांग्रेसका ‘हाइ प्रोफाइल’ नेता कृष्णप्रसाद सिटौला उम्मेदवार थिए । सिटौलालाई हराउन लिङ्देनलाई जित्न सहज थिएन । तत्कालीन नेकपाका उम्मेदवार हुने भनिएका नेताहरू यी दुई नेताभन्दा ‘लो प्रोफाइल’ का थिए ।त्यसपछि सिटौलालाई हराउन झापा–३ मा नेकपा–राप्रपा गठबन्धन भयो । गठबन्धनको उम्मेदवार बनेका लिङ्देनले निर्वाचन जिते । त्यसको ऋण अध्यक्ष लिङ्देनले चार वर्ष हुन लाग्दा राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर चुक्ता गर्न लागेका हुन् ।
राप्रपाका एक नेताका अनुसार आगामी निर्वाचनमा पनि एमाले–राप्रपा गठबन्धन हुने सम्भावना छ ।



