सेयर बजारसामलिङ पावरको आइपीओ आजदेखी खुल्यो, कस्तो छ कम्पनीको अवस्था, कति कित्ताका लागि...

सामलिङ पावरको आइपीओ आजदेखी खुल्यो, कस्तो छ कम्पनीको अवस्था, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौं : सामलिङ पावर कम्पनीले बिहीबार (कात्तिक ४ गते) बाट आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी हुनेछ । यसमध्ये २% अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५% अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ ।

बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा लगानीकर्ताले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअवधिमा सबै आइपीओ बिक्री नभएमा कात्तिक १८ गतेसम्म आइपीओ खुला हुने कम्पनीले जनाएको छ । यसमा लागानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सामलिङ पावरको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । यस आइपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गरेको छ। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

कति कित्ताका लागि दिने आवेदन ?
सामलिङ पावरले कुल ७ लाख ३० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये पनि सर्वसाधारणको भागमा जम्मा ६ लाख ७८ हजार ९ सय कित्तामात्र रहेको छ । यस आधारमा लगानीकर्ताले जम्मा १० कित्ताका लागि मात्र आवेदन दिए पर्याप्त हुने देखिन्छ । पछिल्लो समय आइपीओ भर्नेहरुको संख्यालाई आधार मान्ने हो भने सेयर पाउन भाग्यकै भर पर्नुपर्नेछ ।

विगत केही समयदेखि प्रत्येक आइपीओमा २४ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिन थालेका छन् । तथापि, यस कम्पनीले भने न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ । यो कम्पनी वि.सं २०७० चैत २३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । त्यससिछ २०७६ जेठ २४ मा पव्लिक लिमिटेड कम्पनीमा परिणत भई सामलिङ पावर कम्पनी लिमिटडको नाममा कारोबार गर्दै आएको छ । यसले आफ्नो आयोजनाबाट उत्पादित विद्युत बिक्री गर्न नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।

हाल यस कम्पनीमा ८७ जना संस्थापक शेयरधनीहरु रहेका छन् । यसका संस्थापक शेयरधनीहरुमा विद्युत, उर्जा, बैंक–वित्तीय क्षेत्र, स्वास्थ्य, शैक्षिक क्षेत्र एवं व्यापार–व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका व्यक्तित्वहरु रहेको कम्पनीको भनाई छ ।यसले इलाम जिल्लाको इलाम नगरपालिका (साबिक इलाम न.पा र गोदक गा.वि.स) तथा माइजोगमाई गाउँपालिका (साविक सोयाङ र नामसालिङ गा.वि.स. हरु) स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा संचालन गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट २०७५ वैशाख ६ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो ।

यस कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच २०७३ कात्तिक २६ मा माईबेनी जलविद्युत आयोजना ९.००८ मेगा वाटको विद्युत खरिद बिक्री सम्झौता अनुसार व्यापारिक विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति २०७८ मंसिर २ गते (नोभेम्वर १८, २०२१) रहेको छ । यस माईबेनी जलविद्युत आयोजना निर्माण सम्पन्न भइसक्दा योजनाको कुल लागत २ अर्ब रुपैयाँ रहेको छ । यस्तै, यसको प्रति मेगावाट औसत लागत २१ करोड ३ लाख ५ हजार रुपैयाँ हुने अनुमान रहेको छ ।

यस संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ । उक्त पुँजीलाई १ सय रुपैयाँका दरले ५० लाख थान साधारण सेयरमा विभाजन गरिएको छ । यसैगरी यसको जारी पुँजी रु ५० पनि ५० करोड रुपैयाँ नै रहेको छ । यस्तै, कम्पनीको चुक्ता पुँजी ३७ करोड ७० लाख रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७९–८० मा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा पुर्याउने प्रक्षेपण गरेको छ ।

यस्तै, यसैअवधिमा प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ६७ पैसा पुर्याउने प्रक्षेपण गरिएको छ । सोही अवधिमा ७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन हुने अुनमान गरिएको छ । आयोजनाको लगानी फिर्ता अवधि (सिम्पल पे ब्याक पिरियड) ७.०७ वर्ष रहेको छ । यस्तै, ढिस्काउन्टेड पे ब्याक पिरियड १२.२४ वर्ष रहेको छ । इन्टरनल रेट अफ रिर्टन १३.३७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img