काठमाडौं । अञ्जन बिष्टले पहिलो हाफमै ह्याट्रिक पूरा गरेपछि नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलवार ३–१ को सुखद् नतिजा निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार भएको खेलमा नेपालले पहिलो हाफमा गरेको गोलबाट सुखद् नतिजा निकाल्न सफल भएको हो ।
पहिलो हाफमा लिएको ३–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा एक गोल खाएको थियो । नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक पूरा गर्दा बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काउँदै अन्तर घटाएका थिए ।
पूर्व प्रशिक्षकको टिमबाट निकालिएका खेलाडी मध्येबाट ९ खेलाडी शुरुवाती रोजाईमा परेका थिए । १८ औं मिनेटमा अञ्जनले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए । आफैँलाई लडाएपछि प्राप्त फ्रिकिकमा विमल घर्ती मगरको फ्रिकिकलाई अन्जनले हेडरमार्फत जाली चुमाएका थिए ।
२७ औं मिनेटमा अञ्जनले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाएपनि रिवाउन्डमा अञ्जनले सहजै गोलमा परिणत गरेका थिए । ३८ औं मिनेटमा अञ्जन बिष्टले ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भएको थियो । विशाल राईको फ्रिकिकलाई अञ्जनले हेडमार्फत गोल गर्न सफल भएका थिए ।
बंगलादेशबिरुद्ध ह्याट्रिक पूरा गरेपछि अञ्जन राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा संयुक्त रुपमा तेस्रो स्थानमा रहेका छन् भने ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी पनि बनेका छन् । अञ्जन बिष्ट म्यान अफ दि म्याच चुनिए । अनिल गुरुङ र भरत खवाससले पनि समान १० गोल गरेका छन् । राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको कीर्तिमान निराजन रायमाझी र हरि खड्काको नाममा रहेको छ ।
उनीहरुले संयुक्त रुपमा १३ गोल गरेका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । नेपालबाट पछिल्लोपटक नवयुग श्रेष्ठले सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सलाई ४–१ ले पराजित गर्दा नवयुगले ह्याट्रिक पूरा गरेका थिए ।
यस अघि दबाब दिएर खेलेको नेपालले पहिलो हाफमा १४ औं मिनेटमा अवसर निकालेको थियो । विशाल राईको झन्डै ३५ यार्ड टाढाको फ्रिकिक पोस्ट नजिकैबाट थोरै बाहिरिँदा नेपाल अग्रता लिन बाट चुकेको थियो । १७ औं मिनेटमा कप्तान जमल भुयानको पेनाल्टी बक्स बाहिरको फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिदा बंगलादेश अग्रता लिनबाट वञ्चित भएको थियो ।
पहिलो हाफमा पछि परेको बंगलादेशले ५५ औं मिनेटमा सजजत हुसेनको गोलबाट अग्रता छोट्याए पनि बाँकी समयमा थप गोल हुन सकेन र खेल नेपालको पक्षमा प¥यो । अग्रता घटाउने क्रममा रकिव हुसेनको क्रस सेसेहाङ आङ्देम्वेलाई डिफ्लेक्ट हुँदा कप्तान तथा गोलरक्षक किरण झुक्किन पुग्दा अनमार्क रहेका साजजाद हुसेनले हेडरमार्फत जाली चुमाएका थिए ।
यो जितसँगै नेपाल पछिल्लो पाँच खेलमा बंगलादेशसँग अपराजित यात्रालाई निरन्तरता दिएको छ । नेपाल र बंगलादेशबीच हालसम्म २७ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । नेपाल ८ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ । पछिल्लो पाँच खेलमध्ये नेपालले पछिल्लोपटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।
त्यसअघि नेपालमै भएको थ्री नेसन्स कपमा बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो । थ्री नेसन्स कपकै लिग चरणमा गोलरहित बराबरी र त्यो भन्दा अघि बंगलादेशमा भएको पहिलो मैत्रीपूर्ण खेल २–० ले गुमाएको नेपालले त्यसपछि गोलरहित बराबरी खेलेको थियो ।