सुनसरी / इटहरीको रंगशालामा मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगितामा बिभागीय टिम नेपाल पुलिस र एपीएफ क्लबले बिजयी सुरुवात गरेका छन् ।
सोमबार राती सम्पन्न खेलहरुमा पुलिसले अर्को बिभागीय टिम त्रिभुवन आर्मी क्लबलाई र एपीएफले बागमती प्रदेशलाई पराजित गरेको छ । खेलमा पुलिसले आर्मीमाथी ३–० को सोझो सेटको जित दर्ता गर्यो । पहिलो सेट २५–२० ले जीतेको पुलिसले दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–२१ ले जित्यो । उक्त खेलको म्यानअफ द म्याच पुलिस क्लबकी कामना बिष्ट घोषित भइन ।
पहिलो दिनको खेलसंगै समुह ए मा रहेको एपीएफले ३ अंक जोडेको छ भने समुह बी को पुलिसले पनि ३ अंक जोडेको छ । समुह ए मा एपीएफसंगै बागमती र कोशी प्रदेश रहेका छन् । समुह बी मा आर्मी सहित नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश रहेका छन् । दुबै समुहबाट समुह बिजेता र उपबिजेता सेमिफाइनलमा प्रतिष्पर्धा गर्न पाउने छन ।
जेठ ३२ गतेसम्म खेल हुने भएको छ ।प्रतियोगिताको कोशी प्रदेशका सामाजिक बिकास मन्त्री बुद्धीकुमार राजभण्डारीले कार्यक्रम उद्धघाटन गरेका हुन् । खेलमा सहभागी ६ वटै टिम रहेका जिल्ला भलिबल संघ सुनसरीका अध्यक्ष बिक्रम थापाले जानकारी दिए ।
प्रतियोगिता बिजेताले नगद ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैया पुरस्कार पाउने छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन । यस्तै उत्कृष्ट विधाहरु अन्तर्गत बेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेण्डरलाई जनही १५ हजार प्रदान गरिने बताइएको छ ।
कुल २५ लाख रुपैया खर्च हुने प्रतियोगितामा प्रत्येक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक ब्यवस्थापक गरी १४ जनालाई यातायात खर्च र नियम अनुसार दैनिक भ्रमणभक्ता उपलब्ध गराइने पनि आयोजकले जनाएको छ ।