Saturday, April 19, 2025
खेल समाचारनेपाललाई ऐतिहासिक पदक दिलाउन उत्कृष्ट खेलेकी अनुजा
spot_img

नेपाललाई ऐतिहासिक पदक दिलाउन उत्कृष्ट खेलेकी अनुजा

१९औं संस्करणको एसियाली खेलकुदमा नेपाल टिम रित्तो हात घर फर्कन परेन। चीनको हाङझाउमा ४५ देशका १२ हजार बढी खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गर्दा नेपालले अन्तिम दुई दिनको खेल बाँकी रहँदा एउटा कास्य जित्यो।

धन्न नेपाल पदक जित्न नसकेको देशको सूचीमा परेन। ४१ देशले पदक जितेकोमा अहिलेसम्म यमन, इस्ट टिमोर, भुटान र माल्दिभ्सले मात्र पदक जित्न सकेका छैनन्। एसियाली खेलकुदमा नेपालले २९ खेलमा सहभागिता जनाएकोमा महिला कबड्डीबाट कास्य जित्यो। महिला कबड्डीलाई नेपालले पदक जित्न सक्ने खेलको सूचीमा समावेश गरेको थिएन। तर महिला खेलाडीले बंगलादेशविरूद्ध गरेको निडर प्रदर्शन र भाग्य दुवैको साथ पाउँदा नेपालले एसियाली खेलकुदमा कबड्डीबाट ऐतिहासिक कास्य जित्यो।

महिला कबड्डीमा सात टिमले भाग लिएको तीन टिम सम्मिलित समूहमा पर्दा नेपालालाई भाग्यले साथ दिएको थियो। अझ समूहमा बंगलादेश पर्दा नेपालको मनोबल बढेको थियो। नेपालकै स्तरको बंगलादेशलाई पराजित गर्दा नेपाल सेमिफाइन पुग्ने समिकरण बनेको थियो। कबड्डीमा सेमिफाइनल पुग्ने टिमलाई पदक जित्ने नियमले नेपाललाई थप उत्साहित बनाएको थियो।

समूह ‘बी’‍ को पहिलो खेलमा बंगलादेशलाई हराएपछि नेपाल पदक नजिक पुगेको थियो। नेपालले सो खेलमा ३७-२४ अंकले विजयी भएको थियो। समूहको दोस्रो खेलमा इरानसँग पराजित भएको नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुग्यो। सेमिफइनलमा भारतसँग पराजित हुँदा नेपाल कास्य पदकमा सीमित हुनु पर्‍यो। पहिलो खेल जितेर कास्य पदकको हकदार भएको नेपाली टिमले भरोसा गरेकी खेलाडी हुन्, अनुजा कुलुङ राई।

‘टिमले ममाथि एकदमै आशा राखेको थियो। टिममा रहेका सिनियर र जुनियरले मेरै भर पर्ने बताएका थिए,’ बंगलादेशविरुद्धको खेलअघि टिमले गरेको भरोसाबारे अनुजाले भनिन्, ‘टिमका साथीहरूले तँ आउट वा कुनै गल्ती गर्दा हामी आत्तिन्छौ भनेका थिए। मलाई एकदमै राम्रो गर्नुपर्छ भनेर उत्प्रेरणा दिइरहेका थिए।’ नभन्दै उनले टिमले भरोसा गरेअनुसारकै प्रदर्शन गरिन्। बंगलादेशका खेलाडीलाई समाप्नेदेखि आउट गर्नमा उनी अंग्रपक्तिमा रहिन्। टिममा रहेका खेलाडीमध्ये बलिष्ठ समेत रहेकी राईले टेक्निकल खेल समेत खेल्दा नेपालले दुवै हाफमा अग्रता लिँदै खेल जितेको थियो।

‘बंगलादेशका खेलाडीका कमजोरीलाई पक्रिएर मैले त्यहिँ अनुसारको प्रदर्शन गरे। मेरो प्रदर्शनले सबै जना खुसी पनि हुनु भयो,’ उनले भनिन्। बंगलादेशलाई जितेपछि पदक पक्का हुने भएपछि नेपाली टिम खेलअघि दबाब थियो। तर उनले कुनै दबाब महसुस नगरी खेलेको बताइन्। ‘बंगलादेशसँग खेल्दा कुनै दबाब थिएन। बंगलादेश हामीले जितिसकेको टिम हो। हाम्रो टिममा टिममा दक्षिण एसियाली खेलकुद खेलेका ५ जना खेलाडी थिए। उनीहरूको ३ जना मात्र थिए,’ अनुजाले भनिन्, ‘उनीहरुसँग नयाँ खेलाडी थिए। हामीसँग अनुभवी खेलाडी थिए। अनुभवको कारणले गर्दा हामी आत्मविश्वासी थियौं।’

झापाका अनुजाले कबड्डी खेल्न थालेको १० वर्ष भयो। सुरूमा उनी स्कुलमा कबड्डी खेल्थिन्। झापामा हुँदा स्कुलस्तरीय प्रतियोगितामा खेल्ने गरेकी उनी राष्ट्रपति रनिङ शिल्ड खेल्न काठमाडौं आएकी थिइन्। काठमाडौंमा उनले उत्कृष्ट प्रदर्शन गरेपछि उनी त्रिभुवन आर्मी क्लबको नजरमा परिन्। उनलाई तत्काल नै आर्मीले टिममा आबद्ध गर्‍यो। त्यसयता उनी राष्ट्रिय टिममा परेर निरन्तर देशका लागि खेलिरहेकी छिन्। नेपालमा कबड्डीका राष्ट्रिय प्रतियोगिता कमै हुन्छन्। कबड्डीको आफ्नै हल समेत छैन। अझ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने कुरा च सोच्न पनि सकिदैन। पूर्वाधार र लगानीबिना नेपाली कबड्डीले एसियाली खेलकुदमा हात पारेको सफलता ऐतिहासिक छ।

‘यो सफलतामा राष्ट्रले हेरिदिनु पर्छ। हामीले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नै पाएका थिएनौं। जसका कारण हामीले अनुभव बटुल्न पाएनौं,’ उनले भनिन्, ‘२०१९ मा नेपालमा भएको साग गेम्सपछि कोभिड-१९ को महामारी फैलियो। त्यसपछि कुनै अन्तर्राष्ट्रिय खेल हुन सकेनन्। हामी यतिकै बस्न पर्‍यो। हामीले एसियाली खेलकुदमा भाग लिन्छौं भनेर कसैले पनि सोच्न सकेका थिएनन्। हामी आफैं पनि भाग लिन पाउदैनौं भनेर बसेका थियौं।’

महिला कबड्डी टिमले एसियाली खेलकुदमा पदक जितेपछि अब देशले कबड्डीलाई पनि प्राथकितामा दिनुपर्ने उनको माग छ। ‘अन्तर्राष्ट्रिय खेलकुदमा हाम्रो पनि सहभागिता होस्। सकभर महिला तथा पुरुष दुवै टिमलाई सहभागी गराइयोस्,’ उनले भनिन्। शनिबार विहान चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरमा गलामा मेडल समारोहमा अनुजा निकै भावुक बनेकी थिइन्। ‘मेडल लिएर घर फर्कदाको क्षण शब्दमा व्यक्त नै गर्न सक्दिनं,’ उनले भनिन्। – सेतोपाती

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img