धनकुटा / धनकुटाको चौविसे गाउपालिकाको राजारानीमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण प्रथम रारा भेट्रान गोल्डकप फुटबलको उपाधि हाम्रो इटहरी भेट्रान सुनसरीले हात पारेको छ ।
बिहीबार सम्पन्न फाइनल खेलमा बेर्मियोक नाम्फिङ भेट्रान सिक्किमलाई ० का विरुद्ध १ गोलले हराउँदै हाम्रो इटहरी भेट्रान सुनसरीले उपाधि जितेको हो । हाम्रो इटहरी भेट्रानका दिपेन राईले खेल सुरु भएको ११औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल भएको थियो ।
प्रतियोगिताको विजेता हाम्रो इटहरी भेट्रान नगद एक लाख रुपैयाँसहित ट्रफी मेडल प्रमाणपत्र हात पारेको हो । यस्तै दोस्रो भएको बेर्मियोक नाम्फिङ भेट्रान सिक्किमले नगद ५० हजार रुपैयाँ ट्रफी मेडल प्रमाणपत्रमा चित्त बुझाएको छ ।
फाइनल खेलको म्यान अफ द म्याच बेर्मियोक नाम्फिङ साहिक्षा अन्सारी घोषित हुनुभयो । उहाँले नगद पाँच हजार पुरस्कार पाउनु भयो । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हाम्रो इटहरी भेट्रानका अंकुर कुमार खड्गी, उत्कृष्ट गोलकिपर हाम्रो इटहरी भेट्रानको तुलसी श्रेष्ठ घोषित भए । यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता हाम्रो इटहरी भेट्रानका सन्तोष राई र दिपेन राई घोषित भए ।
रारा भेट्रान फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक सहित सुनसरी, मोरङ, झापा सहित भारतको सिक्किमका गरि ८ वटा भेट्रान क्लबको सहभागीता रहेको थियो ।