मकवानपुर: हेटौडामा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबार मकवनपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै संघले एन्फा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता २०८० को आयोजना गर्न लागेको जनाएको छ ।
फुटबल संघले आगामी चैतमा हुने जिल्ला लिगका लागि दुई वटा टोली छनोट गर्न प्रतियोगिताको आयोजना गर्न लागेको हो । शनिबारबाट हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ । जहाँ जिल्लाका १२ वटा क्लवले प्रतिस्पर्धा गर्नेछन् ।
जिल्ला फुटबल संघ मकवानपुरका सदस्य रहेका आलोक स्याङ्तानको संयोजकत्वमा हुने प्रतियोगिताको उद्घाटन खेल कमलदेवी युवा क्लव र पञ्चशील युवा क्लवबीच दिउँसो १२ बजे सुरु हुनेछ । फाइनल खेल मंसिर ३० गतेको लागि तय गरीएको छ ।
छनोट प्रतियोगितामा पञ्चशील र कमलदेवी सहित ज्ञानज्योति युवा क्लव हेटौंडा, पदमपोखरी फुटबल एकेडेमी, बकैया यूथ क्लव, जनहित युवा क्लव, द रिभाइबल यूथ क्लव, कमाने फुटबल एकेडेमी, अग्रसर युवा क्लव, जनप्रवाह क्लव, सहयोगी युवा समाज र समाज कल्याण युवा क्लव सहभागी छन् ।
नकआउटको आधारमा हुने प्रतियोगिताको फाइनल पुग्ने दुई क्लवले अर्को वर्षको जिल्ला लिग खेल्न पाउने प्रतियोगिताका संयोजक स्याङतानले जानकारी दिए । उनले लिगको पुछारमा हुने दुई वटा क्लव रेलिगेसनमा पर्ने अर्थात घटुवा हुने बताए ।
प्रतियोगिताको विजेता तथा उपविजेत क्लबले शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने र म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कृत गरिने आयोजनले जनाएको छ ।
मकवनपुर जिल्ला फुटबल संघले आयोजना गर्न लागेको मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता २०८० भव्य सफलताको यस नारायणी कलेज परिवारको तर्फबाट हादिक शुभकामना ब्यक्त गर्दछौ ।