मकवानपुर: मकवानपुरगढीमा सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन मार्फत खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिता पुस २८ गते सुरु भइ माघ १ गते समापन हुने समितिका संयोजक हिरा स्याङ्तानले जानकारी दिए ।
पालिका स्तरीय प्रतियोगितामा १० वटै स्थानीयतह र आयोजकको थप एक समूह सहित ११ समूह प्रतियोगितामा रहने संयोजक स्याङ्तानले बताए ।
खेलका लागि २७ गतेभित्रमा आफ्नो टिम दर्ता गर्नुपर्ने साथै दर्ता शुल्क तीन हजार लाग्ने आयोजकले जनाएको छ । खेलमा करिब ५ लाख खर्च हुने अनुमान गरिएको र गाउँपालिकाले चार लाख बजेट विनियोजन गरेको आयोजकले बताएको छ ।
प्रतियोगिताका विजेताले एक लाख २५ हजार प्राप्त गर्ने र उपविजेताले ७५ हजार प्राप्त गर्ने स्याङ्तानले बताए । प्रतियोगितामा विधागत खेलाडीहरुलाई पनि पुरस्कृत गर्ने र खेल लिग चरणमा हुने आयोजकले जनाएको छ।