धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका- ३ कुसेटारमा आयोजना भएको पाँचौं सरस्वती कप फुटबल प्रतियोगिताको उपाधी पुरुषतर्फ फाक्चामारा फुटवल क्लव र महिलातर्फ खुवाफोक फुटवल क्लवले जितेको छ ।
फाइनल खेलमा तिलीगाउँ फुटवल क्लवलाई शुन्यको विरुद्ध एक गोलले पराजित गर्दै तेह्रथुमको फाक्चामाराले उपाधी जितेको हो । उपाधीसँगै फाम्चामाराले नगद ५५ हजार ५ सय ५५ रुपैया र ट्रफी प्राप्त गर्यो भने उपविजेता वनेको तिलीगाउँ फुटवल क्लवले नगद ३५ हजार ५ सय ५५ रुपैयामा चित्त वुझाएको हो ।
त्यस्तै महिलातर्फ पाख्रिवास फुटवल क्लवलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै खुवाफोक फुटवल क्लवले उपाधी जित्यो । उपाधीसँगै खुवाफोकले नगद १५ हजार रुपैया र ट्रफी र उपविजेता पाख्रिवास फुटवल क्लवले नगद १० हजार रुपैया र ट्रफीमा चित्त वुझायो ।
विजेता तथा विजेता टिमलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, जिल्ला फुटवल संघ धनकुटाका उपाध्यक्ष मणि देवान, ३ नं. वडाध्यक्ष टेकप्रसाद लिम्बू लगायतले पुरस्कार वितरण गरेका थिए ।
गत माघ २६ गते देखि सुरु भएको प्रतियोतिामा पुरुषतर्फ १६ र महिलातर्फ ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता संचालनको लागि साँगुरीगढी गाउँपालिकाले आर्थिक सहयोग गरेको आयोजक ड्रिम ब्बाइज क्लवका अध्यक्ष नविन माझीले बताए । कुसेटारमा हरेक वर्ष लाग्दै आइरहेको ऐतिहासिक सरस्वती मेलाको अवसर पारेर प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।