हेटौंडा- बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको तेस्रो क्वार्टरफाइनलमा मछिन्द्र युथ क्लबले जाउलाखेल युथ क्लबलाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको जनता माविको खेल मैदानमा भएको खेलको निर्धारित ९० मिनेटसम्म गोल हुन नसकेपछि टाइब्रेकरमा गएको थियो।
टाइब्रेकरमा जाउलाखेलका छिरिङ लामाले मात्र गोल गर्न सफल भए भने मछिन्द्रका खेलाडीले सफल प्रहार गरे। यसअघि दुई पटकको विजेता जाउलाखेल पराजित हुँदा मछिन्द्रले सेमिफाइनलको यात्रा तय गरेको हो।
मछिन्द्रले भोलि न्यूरोड टिमसँग फाइनल पुग्ने उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको अन्तिम चरणको खेलमा आयोजक बागमती र त्रिभुवन आर्मीबीच खेल हुनेछ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउनेछन्।