भोजपुर | नेपालमा आयोजना भइरहेका अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताहरूले विश्वभर फैलिँदै गरेको नेपाली फुटबलको छवि फेरिरहेको छ। त्यसैको उदाहरण बनेको छ आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप, जहाँ सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले भारतको जर्जियन फुटबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको छ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि, अतिरिक्त समयको सुरुवातमै एपीएफका सामीराह थोकरले निर्णायक गोल गर्दै टिमलाई उपाधि नजिक पुर्याए। थोकर नै म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भगवती स्पोर्ट्स क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेड काठमाडौँ भिड्दै छन्। आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष भाष्कर तामाङका अनुसार फाइनल समीकरण शुक्रवारपछि टुंगिने छ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र जिल्ला फुटबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा भारतको जर्जियन फुटबल क्लबसहित ८ वटा टिम सहभागी छन्। सिरहाको सलहेश एफसी, सप्तरीको नवोबुद्ध एफसी, मोरङको एलएक्स सिटी, खोटाङ, काठमाडौँ, र एपीएफ जस्ता टिमहरूले यो प्रतियोगितालाई राष्ट्रियस्तरको बनाएको छ।
भोजपुर–७ स्थित रंगशालामा चलिरहेको प्रतियोगिताका विजेताले ५ लाख नगद र उपविजेताले ३ लाख नगद प्राप्त गर्ने छन्। साथै उत्कृष्ट खेलाडी, डिफेन्डर, मिडफिल्डर, गोलकिपर आदिका लागि व्यक्तिगत विधा पुरस्कार पनि तोकिएको छ।
भोजपुर नगरपालिकाले प्रतियोगिता सञ्चालनका लागि रु ३० लाख आर्थिक सहयोग गरेको छ। यो रकमले न केवल प्रतियोगिता सशक्त बनेको छ, भोजपुरमा खेल पर्यटनको संभावना पनि झन बलियो भएको छ।