सुनसरी / भोजपुरको जिल्लाको साल्पासिलिछो गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल साल्पा सिलिचुङ पोखरी पर्यटकको पर्खाइमा रहेको छ ।
एक धार्मिक महत्व बोकेको यो पर्यटकिय स्थल प्रचार प्रसारको कमिले पर्यटक माझ चिनिन नसकेको हो । समुन्द्रि सतहबाट ४ हजार १५३ मिटर उचाईमा रहेको सिचिलुङ डाँडाबाट सगरमाथा हिमाल पनि आँखै अगाडी देख्न सकिन्छ ।
यस क्षेत्र भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु र खोटाङ जिल्लाको सँगमस्थल प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलको रूपमा परिचित छ । सिलिचुङ चुचुरो भोजपुर र सङ्खुवासभा जिल्लाको सिमाना अवस्थित छ । जहाँबाट उत्तरतर्फ मकालु हिमाल, विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल आँखैमा टाँसिन्छ ।
भोजपुर जिल्लाको टेम्के भन्ने साथ सबैलाई लाग्छ मनमोहक स्थान अनि त्यहाँ बाट हिमाल पहाड देखिन्छ । सिलिचुङ डाँडाबाट सगरमाथा सँगै तराईका सुन्दर फाँटसँगै अन्य हिमालहरुको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
चुचुरोको काखैमा रहेको पोखरीमा आन्तरिक पर्यटकहरु आफ्नो मनोकामना पुरा हुने धार्मिक विस्वासले पूजाआजा गर्नको लागि पुग्ने गरेका छन् । खास गरेर यहाँ वर्षमा चार पटक मेलासमेत लाग्ने गरेको छ । बैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको स्थानीयको भनाइ छ । यहाँ भोजपुर, खोटाङ, संखुवासभा, धनकुटा, सोलुखुम्बु, लगायत ठाउँबाट भक्तजनहरु पुग्ने गरेका छन् ।
खास गरेर स्थानीय मनोकामना पुरा हुने, हाके ताकेको पुरा हुने धार्मिक विश्वासका साथ त्यहाँ पुग्छन् । खास गरेर बोली नआउने वोली आउने र सन्तान नहुनेलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास रहेको स्थानीयवासी बताछन् ।
स्थानीयका अनुसार समय समयतमा यस पोखरीको रंगसमेत फेरिने गर्दछ । यो ठाउँलाई किरात राईहरुले सवै भन्दा अग्लो स्थानमा रहेको पुख्र्यौली भगवान भनेर मान्ने गरेका छन् । उनीहरुले हरेक दुःख सुखमा साथ दिने आस्थाको प्रातिकका रुपमा लिने गरेका छन् । साल्पा पोखरीलाई किरात, हिन्दु, बौद्धमार्गीहरुले साझा तीर्थस्थलका रूपमा मानिन्छ ।
साल्पा पोखरी र सिलिचुङ डाँडा धार्मिक तथा पर्यटकिय क्षेत्र रहेकोले यसको बृहत्तर रुपमा विकास गर्ने गाउँपालिका जनाएको छ । यो क्षेत्रमा रेडपाण्डा लगाएतका धेरै प्रकारका जीवजन्तु, विभिन्न बहुमुल्य जडीबुटी पाइने गरेको छ । साउने डाँडा, हाडी पोखरी र हाँस पोखरी यहीँ पर्छ ।
नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकिय गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्ग यो क्षेत्रसम्म विस्तार भएको छ । मुन्दुम पद मार्गले छोएको स्थानलाई जोड्दै साल्पासिलिछो गाउँपालिकाले पनि पदमार्ग निर्माण गरेर अरुण उपत्यका हुँदै कञ्चनजंघासम्म करिव ६० किलो मिटर निर्माण गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको अर्को मुन्धुम पद मार्ग पनि पर्छ । चखेवा डाँडाबाट पदयात्रा गरेर मुन्धुम पद मार्ग हुदै साल्पापोखरी जाने गरिन्छ । भोजपुर र खोटाङको सिमानामा अवस्थित टेम्के डाँडा (३ हजार १६५ मिटर) बाट शुरू हुने पदयात्रा मैयुङ डाँडा, सिलिचुङ डाँडा हुँदै साल्पा पोखरीमा टुङ्गिन्छ । मुन्धुम पदमार्ग करीब ८० किलोमिटर रहेको छ।
खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको सीमा क्षेत्रमा रहेको मुन्धुम पदमार्ग २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको नेपालका घुम्नैपर्ने सय वटा पर्यटकीय गन्तव्यको सूचीमा यो पदमार्ग पनि परेको थियो । त्यसयता टेम्केमैयुङ साल्पासिलिचुङ शृङ्खलाको चर्चा हुनुका साथै यो पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने पहल भइरहेको छ ।
मुन्धुम ‘ट्रेकिङ’ जाँदा भोजपुर र खोटाङको सीमा क्षेत्रमा ठूला–ठूला डाँडाकाडाको दृश्य, चेरीडाँडा, मलुवा पोखरी, दलसिंगे भन्ञ्याङ ,धोद्रे देउराली, तीन थुम्की, जलजले हुँदै यहाँका मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।
साल्पा सिलिछो गाउँपालिकामा कुलुङ , चिकिडाँडा , खाटाम्मा र दोभाने ठाउँ पर्छ । यता ,टेम्केमैयुङ गाउँपालिका करिब साढे २ घण्टा तल जरेपछि पुग्न सकिन्छ । लेखर्क , गोगने , कोट ,तिम्मा , छिनामुखु , नागि र खावा यहीँ टेम्केमैयुङ गाउँपालिकामा पर्छ ।