Friday, February 14, 2025
पर्यटननेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको महिमा

नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको महिमा

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाको मध्य भागमा अवस्थित बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीको महत्वपूर्ण शक्तिपीठ हो । हिन्दूहरूको पवित्रस्थलका रूपमा रहेको बागेश्वरी मन्दिरको उत्पत्ति र स्थानबारे कुनै प्रमाणित तिथि, मिति प्राप्त छैन । कुनै निश्चित प्रमाणित आधार नभए पनि बागेश्वरी मन्दिरको उत्पत्तिबारे भने विभिन्न जनश्रुति रहेका छन् । यस मन्दिरमा पूजाआजाका लागि स्वदेशका विभिन्न जिल्लालगायत भारतको नानपारा, बहराइच, लखनउसम्मका श्रद्धालुहरू आउने गर्दछन् ।

यो मन्दिर प्यागोडा शैलीबाट बनेको छ । यस मन्दिरमा विभिन्न देवीदेवताहरूको मूर्तिहरू छन् । यहाँ सतीदेवीको जिब्रो पतन भएकाले यो ठाउँलाई बाँकेखरी भनियो र पछि बाकेश्वरी भन्ने शब्द अपभ्रंश भई बागेश्वरी बनेको हो । यसै ठाउँको नामबाट जिल्लाको नाम बाँके रहन गएको हो भन्ने जनविश्वास रहेको छ । दुर्गा सप्तसतीको देव्याकवचको श्लोकमा रोम कुपेषु कौवेरी त्वचबागेश्वरी तथाःभनी लेखिएबाट सतीको अंग पतन भएको ठाउँ भएकोले बागेश्वरी भनिएको हो भन्ने पनि गरिन्छ ।

यहाँ मन्दिर र मूर्तिको स्थापना प्राचीनकालमा भएको र मर्मत सम्भार दिगबिजय सिंहले गराएका थिए भन्ने कुरा इतिहासबाट थाहा पाउन सकिन्छ । यस स्थानमा सर्वप्रथम किन्नर गणहरूले पूजा, आराधना गरेको मानिन्छ । एउटा ठूलो तलाउको किनारमा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको बताइन्छ । यो नेपालको महत्वपूर्ण हिन्दू मन्दिरमध्येमा पर्दछ । दुर्गा भवानीको यो मन्दिर बागेश्वरी मन्दिरको नामले प्रख्यात छ । सतीदेवीको जिब्रो पतन भएको मानिने भएको हुनाले यस मन्दिरलाई प्रसिद्ध पीठ पनि मानिन्छ ।

करिब ७० मिटर उच्च कोषमाथि दुर्गाको मूर्ति राखिएको छ । जसलाई छत्रले ढाकिएको छ । यस मूर्तिमुनि गहिरो खाडल छ । खाडल माथि राखिएका फलामे जाली माथि राखिएको चाँदीको सिंहासन माथि राखिएको शिलालाई नै देवीको शाश्वत् रूप मानी पूजा गरिन्छ । देवीको प्रतिमामुनि रहेको खाल्डोले सतीको जिब्रो खसेको ठाउँमा सो अड्डा धान्न नसकी पृथ्वीमा खाल्डो भएको हो भन्ने किंवदन्ती छ । बागेश्वरी त्यहीँ जिब्रो खसेको ठाउँ हो भन्ने किंवन्दतीलाई चरितार्थ गर्दछ । देवीको नाममा भाकल गर्नेहरूलाई मन्दिरको चारैवटा ढोका बन्द गरी पूजारीले उक्त खाल्डोको दर्शन गराउँछन् ।

मन्दिर

बिहान ४ः३० बजे पूर्वनै मन्दिरका पुजारीले मुखमा पट्टी बाँधेर मन्दिरका ढोकाहरू बन्द गरी तान्त्रिक र वैदिक विधिद्वारा पूजा गर्दछन् । प्रत्येक मंगलबार देवीको वबशेष पूजा गर्ने र रोटी चढाउने गरिन्छ । बागेश्वरी शक्तिपीठ भएकाले महाअष्टमी र महानवमीमा धुमधामसँग पूजा गर्ने गरिन्छ । महानवमीको दिन मन्दिरमा सयौंको संख्यामा बोका, कुखुरा र हाँस बलि दिइन्छ । महानवमी, महाअष्टमी र रामनवमीमा नेपालका विभिन्न भागबाट मात्र नभई भारतको लखनउसम्मका भक्तजनहरू मन्दिरमा मेला भर्न आउने गर्दछन् । देवीलाई खुसी पार्न कतिपय भक्तजनहरूले जिब्रो सुइरोले छेडी मन्दिर परिक्रमा गर्ने गर्दछन् भने कतिले औंला काटी रगतसमेत चढाउने गरेको पाइन्छ । यसो गरे देवी खुसी भई मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ । नवरात्रिमा विद्वान पण्डितहरूद्वारा तत्चण्डी महायज्ञ गरिने र चतुर्मासा महात्मा पाठ गरिनेसमेत चलन रहेको छ । शनिबारका दिन प्रायः जसो मन्दिरमा घुइँचो लाग्ने गर्दछ ।

जनश्रुति बमोजिम बागेश्वरी देवीको उत्पत्ति डोल्पा जिल्लाको कोटगढीमा अवस्थित त्रिपुरा सुन्दरी भगवतीसँग जोडिएको छ । वि.सं. १४११ मा कोटगढीको टाकुरामा रहेको ओखल (जसमा जति धान हाल्यो उति चामल हुन्थ्यो) को रहस्य पत्ता लगाउने क्रममा ओखलको पिँधमा रहेका देवीका ९ वटा मूर्तिहरू पुतली बनी उड्दा एउटा बाजुराको बडी मालिका, अर्को जुम्लाको सिँजामा कानेका भगवती, अर्को जाजरकोट, अर्को सल्यान र अर्को अर्घाखाँचीमा पुगी भगवतीका विभिन्न रूपमा प्रसिद्ध भए भने एक बहिनी नेपालगन्ज पुगी बागेश्वरीका रूपमा प्रसिद्धि पाएको मानिन्छ । अर्को जनश्रुति बमोजिम सतीदेवीको जिब्रो खसेकाले पहिले बाक्यश्वरी र बाग्यश्वरी हँुदै पछि बागेश्वरी भएको हो भनिन्छ । दुर्गा सप्तसतीको देब्याकवचको श्लोकमा “रोम कुपेषु कौवेरी त्वचबागेश्वरी तथाःभनी लेखिएबाट सतीको अङ्ग पतन बागेश्वरी मन्दिरको पूर्वतर्फ अवस्थित तलाउको बीच भागमा अवस्थित खडेश्वर महादेवको मूर्तिलाई बागेश्वरी मन्दिरको पूर्वपट्टी प्रवेशद्वारको प्राङ्गणसँग करिब ५० मिटर लामो पुलले जोडिएको छ । सम्वत् २००६ सालमा कप्तान प्रकाश शमशेर जबराले स्थापना गरेको करिब अढाइ मिटर अग्लो महादेवको मूर्ति पश्चिम भागमा छ ।

मन्दिरको वरिपरि भैरव, काली, सिंह आदिका मूर्ति र मन्दिर पनि छन् । यहाँको नाग मन्दिरमा नागपञ्चमीको दिन विशेष पूजा गरिन्छ । बागेश्वरी नेपालकै मुख्य धार्मिक स्थल हो । यो नेपालगन्जको बीचभागमा पर्दछ । यहाँ दुर्गा भवानीको प्रसिद्ध मन्दिर र आराध्यदेव महादेवको प्रतिमा छ । सती देवीको देहान्त भएपछि पीडामा रहेका महादेवले सती देवीको शव बोकेर भौँतारिएका बेला सती देवीका शरीरका अङ्ग पतन भएको धार्मिक मान्यता छ । त्यस बेला शव यात्राका क्रममा सती देवीको जिब्रो पतन भएको ठाउँमा कालान्तरमा बागेश्वरी मन्दिर स्थापना भएको इतिहास पाइन्छ ।

जनश्रुति अनुसार २ हजार वर्ष अगाडि पशुपतिनाथबाट फर्केका तपस्वीहरू यहाँ राति बास बसेका थिए । बास बस्ने क्रममा सपनामा दर्शन दिएकी देवीले मेरो जिब्रो यहीँ पतन भएको हो भनेर खाल्डो देखाइन् । पछि हेर्दा त्यहाँ रहेको शक्तिपीठ तपस्वीहरूले फेला पारेपछि यहाँ मन्दिर बनाए । सबैको फलिफाप हुने भन्दै स्थानीयवासीसँग मिलेर एक तपस्वीले मन्दिर निर्माण गरेको जनविश्वास छ ।

त्यतिमात्र होइन यस मन्दिर परिसरमा विवाह मण्डप, गणेशपुजन, रामजानकी मन्दिर, राधाकृष्ण मन्दिर सन्तोषी मातालगायत देवीदेवताको मूर्ति तथा सांस्कारिक स्थल रहेका छन् । साथै सानो पार्कसमेत छ । सो पार्कलाई धार्मिक स्थलको अवलोकन पछि विश्राम गर्ने स्थलको रूपमा विकसित गर्न सकिन्छ ।

बागेश्वरी शक्तिपीठको पूर्वोत्तर दिशामा एउटा यज्ञशाला रहेको छ । बागेश्वरी मन्दिरमा विशेष पूजा हुने दिनका अतिरिक्त दैनिकजसो हवन गरिने उक्त यज्ञशाला किन्नुराम बैश्यकी पत्नी केतारादेवी बैश्यले २०४५ साल आश्विन २५ गते रोज ३ मा निर्माण गरेको बताइन्छ । यसैगरी बागेश्वरी शक्तिपीठको पश्चिमी प्रवेशद्वार भएको सडकको पश्चिम किनारामा हनुमानको मन्दिर छ । मन्दिरभित्र सिमेन्टद्वारा निर्मित हनुमानको भव्य मूर्ति रहेको छ । दैनिकजसो भक्तजनहरू उक्त मन्दिरमा गई आर्शीवाद लिने र पूजा गर्ने गर्दछन् ।

यसैगरी बागेश्वरी तलाउको दक्षिण किनारामा दक्षिणा अभिमुख गराई हेमन्तकुमार पटवाको स्मृतिमा उनकी श्रीमती मायादेवी पटवाले २०४५ साल मार्गमा निर्माण गराएको राधाकृष्ण मन्दिरमा दैनिक भक्तजनहरूको घुइँचो नलागे पनि बेला बेलामा भजनकीर्तन हुने र कृष्ण जन्माष्टमीमा विशेष भीड लाग्ने गर्दछ । यसैगरी वडा नम्बर २ मा गगनेश्वर मन्दिर, त्रिपुरेश्वर मन्दिरका साथै बौद्ध पार्कसमेत रहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन २ गते शुक्रवारको भाग्यफल

spot_img