Wednesday, May 14, 2025
पर्यटनगुराँसको रंगबिरंगी सिँगारले सजिएको टेम्के डाँडा
spot_img

गुराँसको रंगबिरंगी सिँगारले सजिएको टेम्के डाँडा

spot_img

भोजपुर | खोटाङ र भोजपुर जिल्लाको सिमानामा अवस्थित पर्यटकीय गन्तव्य टेम्के डाँडा हालै गुराँसको रंगबिरंगी सिँगारले सजिएको छ। बसन्त ऋतु लागेसँगै टेम्के डाँडामा विभिन्न प्रजातिका गुराँसहरू फुलेका छन्, जसले डाँडालाई रंगीन रूप दिएको छ। यस वर्ष बैशाखदेखि नै टेम्के डाँडामा फुल्न थालेका गुराँसका कारण पर्यटकहरू आकर्षित भएका छन्।

स्थानीय बासिन्दाका अनुसार यस डाँडामा ३२ प्रजातिका भन्दा बढी गुराँस फुलेका छन्, जसमध्ये राताम्मे र सेताम्मे गुराँस मुख्य आकर्षण बनेका छन्। यी गुराँसका कारण डाँडा रातो र सेतो रंगले लतपतिएको देख्न सकिन्छ।

टेम्के डाँडा पुग्न चखेवा बजारबाट करिब १ घण्टा हिँड्नुपर्छ। यो डाँडा हेर्न आउने प्राय: सबै पर्यटकहरूले यसको सुन्दरता र प्राकृतिक वातावरणमा मुग्ध हुन्छन् ।  दैनिक कम्तीमा एक भन्दा बढी पर्यटक यस डाँडामा आउने गरेका छन् ।

“यो डाँडामा आए पछी मन निकै रमाउने गर्छ ,” पर्यटक मित्रबहादुर दाहाल (खत्री) ले भने, “विगतमा पनि गुराँसका कारण यो डाँडा निकै लोकप्रिय थियो, तर यस पटक अझै बढी मनमोहक देखिएको छ ।”

laliguras 2

टेम्के डाँडाको ओडार मुनि देविथान मन्दिर रहेको छ, जहाँ आफ्नो मनोकांक्षा पूरा होस् भन्ने लक्ष्यले धेरै मानिसहरूले परेवा उडाउने गरेका छन्। समुन्द्र सतहदेखि ३ हजार १० मिटरको उचाईमा रहेको यो डाँडाबाट ३३ वटा हिमश्रङ्खलाहरूको दृश्य अवलोकन गर्न सकिन्छ।

“यो ठाउँ नजिकबाट नै देख्दा निकै आकर्षक देखिन्छ, डाँडा चढ्दा त झन् मनमोहक दृश्य देख्न पाइन्छ,” टेम्केमैयुङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष हर्कराज राईले भने।

यस डाँडाको महत्त्व र प्राकृतिक सुन्दरताका कारण यहाँ पर्यटकको भीड लाग्ने गरेको राई बताउछन। पर्यटकहरूको सहजताका लागि सडक निर्माण भइसकेको छ भने खाने बस्ने सुविधाको व्यवस्थापनका लागि स्थानीय गाउँपालिका र प्रदेश सरकारले पहल गरिरहेका छन्।

“पर्यटकहरू यहाँ बढ्दै गइरहेकाले खानेपानी लगायतका पूर्वाधारहरू निर्माण गर्नुपर्ने आवश्यकता छ,” टेम्के डाँडा घुम्न आएका  पर्यटक दाहालले थपे। उनका अनुसार गाउँपालिका र प्रदेशले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहल गरेको खण्डमा थप पर्यटक भित्र्याउन सकिने छ।

खोटाङ साकेला गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकाले डाँडामा रहेका मठ, मन्दिर र गुफाहरूको संरक्षण गर्ने गरी योजना बनाएका छन्। साथै, प्रदेश सरकारले भ्यू टावर निर्माणको पनि तयारी गरिरहेको छ। प्रमुख प्राकृतिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सकिने यस क्षेत्रमा पर्याप्त सम्भावना रहेको  स्थानीय सरकारले बुझेको बताउदै टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले “यसको व्यवसथित विकासका लागि प्रदेश तथा केन्द्र सरकारसँग पनि समन्वय हुँदैछ।  पछिल्लो समय यहाँ धेरै पर्यटक आउनुले पनि यो डाँडाको महत्त्व बढेको छ।”

laliguras

मन्दिरको नजिकै परेवा उडाउने तथा बली दिने ठाउँको व्यवस्था छ। मन्दिरमा केही समयसम्म जोगीहरू बसी तपस्या गर्ने गथे। यस क्षेत्रको दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। स्थानीयहरूले वालाचतुर्दशी र रामनवमीका अवसरमा  पुजा गर्ने गरेका छन्।

“यहाँ वार्षिक रूपमा दुई पटक भव्य मेला लाग्छ,” उपाध्यक्ष राईले भनिन्, “वैशाख पूर्णिमामा वालाचतुर्दशी र चैत्र शुक्ल नवमीमा रामनवमी मनाइन्छ। यसबेला यहाँ धेरै मानिसको भीड लाग्छ।”

उनका अनुसार मेलाका बेला मानिसहरू यहाँ सदाविज छर्न पुग्छन् र धार्मिक कार्यहरू गर्छन्। प्रचलित किंवदन्तीअनुसार यो डाँडामा आएर दही चिउरा खाँदा मृत्युपछि स्वर्गवासी हुन सकिने विश्वास छ। यसै कारण पनि धेरै मानिस यहाँ दही चिउरा खान आउने गरेको पाइन्छ।

गाउँपालिकाले यस डाँडालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न विभिन्न योजना अगाडि सारेको छ। “हामी यो डाँडालाई सुरक्षित र संरक्षित गर्दै आएका छौं,” उपाध्यक्ष राईले भनिन्, “पर्यटकहरूका लागि थप सुविधा पनि उपलब्ध गराउँदै लगिनेछ।”

टेम्के डाँडाको वरिपरि पर्यटकीय गतिविधि बढ्दै गएकाले यसलाई व्यवस्थित गर्न आवश्यक पूर्वाधारहरू निर्माण गरिने गाउँपालिकाले जनाएको छ। उपाध्यक्ष राईका अनुसार पर्यटकहरूका लागि राम्रो खानेपानी तथा बास बस्ने सुविधामुलक पूर्वाधारहरू तयार पारिनेछन्।

सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गरी टेम्के क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ। गाउँपालिकाले प्राकृतिक तथा सांस्कृतिक विरासतको संरक्षण र प्रवर्द्धनमा पनि जोड दिनेछ भएको छ। यसबाट स्थानीय समुदायलाई रोजगारीका अवसर सिर्जना हुनुका साथै आर्थिक विकासमा पनि टेवा पुग्ने विश्वास गरिएको छ।

पछिल्लो समय टेम्के डाँडाले आन्तरिक तथा बाहिरी पर्यटकको ध्यानाकर्षण गरेको छ। गुराँसका कारण रंगीन र मनमोहक देखिने यो डाँडा हेर्न तथा यहाँको प्राकृतिक वातावरण र धार्मिक संस्कृतिको अनुभव लिन धेरै पर्यटकहरू आउन थालेका छन्। यसले गर्दा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको छ।

 

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img