भोजपुर | नेपाल सरकारको घुम्नै पर्ने सय गन्तव्य भित्र पर्न सफल भोजपुर र खोटाङको सिमानामा अवस्थित मुन्दुम पदमार्गमा रु. एक करोड ९० लाख ५० हजार बढी लागतमा विभिन्न संरचनाहरु निर्माण हुने भएको छ ।
टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र संघ सरकारको रु. एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो । स्वीस सरकारसँगै तीन वटै तहका सरकारले यो क्षेत्रको विकासमा जोड दिएका छन् । यो बजेटबाट पदमार्ग थप विस्तार तथा पुनः निर्माण, स्थानीय बस्तुकला, सूचना बोर्ड, खानेपानी, सौचालयलगायत संरचना निर्माण गरिने हो ।
यो पदमार्गको थप विकास तथा विस्तारको लागि टेम्केमैयुङ गाउँपालिकाको रु.४५ लाख, प्रदेश सरकारको रु. ५२ लाख १५ हजार, संघ सरकारको रु.१० लाख ५० हजार र स्वीस सरकारको रु.४२ लाख ५० हजार बजेट लगानी हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए । बजेटबाट पदमार्ग घुम्न आउने पर्यटकहरुलाई लक्षित गरेर थप विभिन्न संरचना निर्माण हुने उनले बताए ।
“मुन्दुम पदमार्ग देशकै स्थापित पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहेको छ”प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो,“पछिल्लो समय यो पदमार्ग पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । यो बजेटबाट यसको थप विस्तार र विकास हुनेछ । प्राप्त बजेटले आगामी आर्थिक वर्षबाट काम शुरु हुन्छ ।”
टेम्केमैयुङ गाउँपालिका प्राकृतिक रुपमा सुन्दर रहेकोले पर्यटन र कृषिको योजनाबद्ध विकासको लागि काम भईरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । मुन्दुम पदमार्गमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिका र प्रदेश सरकारको लगानीमा चखेवामा पर्यटन सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको उपाध्यक्ष राईले जानकारी दिइन् ।
“हाम्रो गाउँपालिका कृषि र पर्यटनको राम्रो सम्भावना बोकेको स्थानीय तह हो”उपाध्यक्ष राईले भन्नुभयो,“कृषि र पर्यटनलाई लक्षित गरेर योजनाबद्ध विकासमा जुटेका छौँ । मुन्दुम पदमार्ग पर्यटकको प्राथमिकतामा पर्ने गन्तव्यको रुपमा स्थापित हुँदै गएको अवस्था छ । हामीले यो क्षेत्रको विकासमा जोड दिएका छौँ ।”
मुन्दुम पदमार्गको बृहत्तर विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको श्रोतको रुपमा स्थापित गर्ने योजनाको साथ काम गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । गाउँपालिकामा धेरै पर्यटकीय क्षेत्र रहेकोले यी क्षेत्रको योजनाबद्ध रुपमा काम भईरहेको उनको भनाइ छ ।
“मुन्दुम पदमार्ग नेपाल सकारको घुम्नै पर्ने सय गन्तब्य भित्र पर्न सफल पर्यटकीय क्षेत्र हो”अध्यक्ष बस्नेतले भन्नुभयो,“यो पदमार्गको थप विकासको लागि हामीले योजनाबद्ध रुपमा काम गरिरहेका छौँ ।यसलाई गाउँपालिकाको दिगो आम्दानीको श्रोत रुपमा स्थापित गराउने लक्ष्यका साथ काम भईरहेको छ ।”
यो पदमार्गबाट अग्ला हिमश्रृङखला, पहाडका अग्ला डाँडाहरु, तराइका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले छोटो समयमा नै पर्यटकको रोजाइमा पर्न सफल भएको हो ।
उकालो ओरालो हुँदै फैलिएको मुन्दुम पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँत राईहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाहरुले पालेका चौरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ ।
पदमार्गको फोटो पनि छ ।
मुन्धुमलाई प्रचारप्रसार गर्न गत बैशाख १ गतेदेखि ३ गतेसम्म चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा कृषि, पर्यटन र संस्कृति महोत्सव गरेको थियोे । महोत्सव प्रत्येक वर्ष आयोजना गर्दै जान अगाडि बढेको गाउँपालिका जनाएको छ । टेम्केमैयुङ गाउँपालिकाो आयोजना सन् २०२५ लाई मुन्दुम पर्यटकीय बर्षकारुपमा मनाउन लागेको छ ।
पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी भएको जानकारी दिए । उनले सात वर्षदेखि ट्रेलको प्रवर्द्धन र प्रचारप्रसार गर्दै आएकामा सन् २०२५ मा आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन थालिएको बताए।
किराती सभ्यता, संस्कृति र जीवनदर्शनको समग्र रूप मुन्धुम हो । किराती राई बहुल क्षेत्रमा पर्ने भएकाले पदमार्गको नाम मुन्धुम राखिएको हो। समुद्री सतहबाट २ हजार ३०० मिटरमा रहेको चखेवादेखि ४ हजार ११० मिटरको सिलिचुङ डाँडा प्राकृतिक सौन्दर्य, मौलिक जीवनशैली, मिथक, आस्था र किराती संस्कृतिको संगम हो।